आइपीओमा आकर्षण, सानिमा लाइफको आइपीओमा साढे पाँच गुणा बढी आवेदन

काठमाडौं । पछिल्लो समय आईपीओमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा साढे पाँच गुणा आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका जानकारी अनुसार शुक्रबार सम्ममा कम्पनीको आइपीओमा १९ लाख १८ हजार जना आवेदकबाट करिब ३ अर्ब रूपैयाँ बराबरको २ करोड ९९ लाख ८३ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

यो सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताको ५।५५ गुणा बढी हो । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब करोड रुपैयाँ पुग्नेछ।


SHARE THIS