भक्तपुरको सूर्यविनायमा श्री लालीगुराँसको काउन्टर

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकस्थित पाण्डुबजारमा खुलेको छ । संस्थाले सो सुविधा काउन्टरबाट शुक्रबारबाट कारोबार शुरु गरेको हो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ काउण्टरको उद्घाटन गर्दै देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुविधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताउनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरिरहेको बताउनुभयो ।

आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउँदै लैजाने उहाँले बताउनुभयो । संस्थाले यसअघि संस्थाको ललितपुर चापागाउँ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना सेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराउनुभयो ।

संस्थाले हालसम्म करिब तीन सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा वि. सं. २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२ औ वर्षमा सेयर सदस्यलाई सुविधा दिइरहेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फर्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावरलगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

संस्थाबाट सञ्चालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ ।

संस्थाले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यका भित्र र बाहिर गरी थप छ स्थानहरुमा थप सुविधा काउण्टर सञ्चालन गरी सेवा विस्तार गर्ने तयारी भइरहेको भण्डारीको भनाई थियो ।


SHARE THIS