बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रुपमा नेपाल राष्ट्र बैंकले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो । तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गर्दै राष्ट्र बैंकले आइतबार एक सूचनामार्फत तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न आब्हान गरेको छ ।

राष्ट्र बैंकले २०७८ भदौ १ गतेदेखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

मुद्दती निक्षेपका लागि ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई छ करोड ३० लाख रुपियाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपियाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई साउन २६ गते ५ बजेभित्र पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त राष्ट्र बैंकले तोकेको छ ।

खुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्रथामिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकीएको सीमा भन्दा बढी नभएको हुनुपर्ने तथा शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।

साथै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको र समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।


SHARE THIS