केशवराज खनाल
कठमाडौं साउन २४ गते । कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित पुस्तक कलाकार जीवनवृत्त विमोचन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले आईतबार पुस्तकको लोकार्पण गर्नु भयो ।
कार्यक्रममा बोल्दै कुलपति कर्माचार्यले राजनीति, साहित्य जस्ता जिधामा धेरै लेखकहरु सक्रिय रहे पनि कलाको विषयमा लेख्ने कलाकार निकै कम भएको बताउनु भयो । कलामा लेखकलाई प्रोत्साहित गर्न कला लेखक र कला पत्रकारलाई बर्षेनी एकेडेमीले सम्मान गर्दै आएको उहाँले बताउनु भयो । कलाकारको सृजनालाई दस्तावेजका रुपमा सग्रह गर्न एकेडेमीले निकै प्रयास र प्रकाशनहरु गर्दै आएको पनि जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव विपिन घिमिरेले लेखकलाई कलाकारहरुको जीवनी देखेर प्रकाशनमा ल्याएकोमा बधाई तथा शुभकामना दिदै अरु कलाकारका बारेमा पनि निरन्तर लेखिरहन अनुरोध गर्नुभयो ।कार्यक्रममा बोल्दै प्राध्यापक तेजविलास अधिकारीले पुस्तकमाथी समिक्षा गर्नु भयो । नेपाली कला ईतिहासमा १००० वर्ष भन्दा पुरानो कला परम्परा रहेको बताउदै कलाको दस्तावेजीकरण नहुदाँ ति अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताउनु भयो । यस पुस्तकमा २०१४ साल र २०३६ साल बीचमा जन्मिएका कलाकारलाई लेखकले राम्रै मिहिनेतका साथ चित्रण गरेको बताउनु भयो । अबको काम भनेको अग्रज र युवा पुस्तामा कलाको योगदान र संर्घषलाई एकेडेमीले अझ बढि समावेश गराउदै जानुपर्ने विचार राख्नु भयो । अझ परम्परागत र हाम्रा लोककला सृजना गर्ने कलाकारको बढि भन्दा बढि खोजी हुनु पर्ने कुरा बताउनु भयो ।
प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमैमात्र अनुसन्घान र खोज भईरहेको बताउदै नेपाली लोक कलाको व्यापक प्रभार प्रसारका लागि प्रतिष्ठानले देशै भरी विभिन्न कार्यशाला र प्रदर्शनीको आयोजना गरिरकेको बताउनु भयो । आगामी दिनमा पनि परम्परागत कलाक्षेत्रमा मुर्धन्य कलाकरलाई खोजेर उहाँहरुको योगदानलाई प्रकाशनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

पुस्तक लेखनका क्रममा कोभिठको महामारीका कारण निकै कडिनाईको सामना गर्नुपरे पनि सफल भएकोमा पुस्तकका लेखक देवेन्द्र थुम्केलीले खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा अरु कलाकारका कलाका योगदानलाई पनि समेट्दै जाने बताउनुभयो ।
विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो । १६८ पृष्ठको यो पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ । पुस्तकमा कलाकारको जीवनीसंगै कलाकारका रंगीन चित्रपनि समावेश गरिएको छ । पुस्तकको मुल्य ३०० रुपिँया रहेको छ ।