घरेलु तथा साना उद्योग महासंघको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको विधान संशोधन गर्ने उद्देश्यले चितवनको सौराहामा विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारण सभामा ५१ जिल्लाको सहभागीता रहेको थियो । अविरल वर्षाले बाटो अवरोध भएका कारण साधारण सभाका लागि आएका केही जिल्लाका अध्यक्षहरु बाटोबाटै फर्किनु परेको थियो ।

वशेष साधारणसभामा उपस्थित सहभागीहरुको सुझाव बमोजिम विधानलाई संशोधन गरि सम्बन्धित निकायबाट स्वीकृत लिई लागु गर्ने जानकारी हुन आएको छ ।

एक दिने साधारणसभाको उद्घाटन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रुपमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनको उपस्थिति रहेको थियो । कार्यक्रममा मेयर वनले रत्ननगर नगरपालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि औद्योगिक ग्राम स्थापना गर्न सात विघा जमिन व्यवस्थापन गरिएको बताउनुभयो ।

उद्घाटन सत्रमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहले स्वागत मन्तव्य दिनु भएको थियो । समारोहमा निवर्तमान अध्यक्ष सुरेश प्रधानले मन्तव्य दिनु भएको थियो । धन्यवाद ज्ञापन केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष शिवा उपाध्याय अन्जुले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन महासचिव डम्बर प्रसाद रेग्मीले गर्नु भएको थियो ।

उद्घाटन पश्चातको बन्द सत्रमा महासंचिव रेग्मीले महासंघको गतिविधि बारेमा, कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । यसपछि उपाध्यक्ष तथा विधान संशोधन मस्यौदा समितिका संयोजक सूर्य बहादुर कंडेलले विधान संशोधनको मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभयो ।

छलफलका लागि प्रस्तुत मस्यौदा माथि सुझाव संकलन कानूनी सल्लाहकार अधिवक्ता शान्तिराम खतिवडाले गर्नुभएको थियो । मस्यौदामा उठेका जिज्ञासाहरुको जवाफ महासंघका अध्यक्ष गिरी र मस्यौदाका संयोजक तथा उपाध्यक्ष कँडेलले दिनु भएको थियो ।

सहभागीहरुको जिज्ञासाको चित्त बुझ्दो जवाफपछि सहभागीहरुबाट प्राप्त सुझावलाई समेत.ध्यानमा राख्दै विधान संशोधन गरिने बताउँदै अध्यक्ष गिरीले विशेष साधारणसभा सम्पन्न गर्नु भएको थियो । विशेष साधारणसभाका क्रममा महासंघको जिल्ला संघ भक्तपुर घरेलु तथा साना उद्योग संघ र बाँके जिल्लास्थित महासंघको कोहलपुर नगर समितिले कार्यालय भवन बनाएको र पाँचथर जिल्लाले भवन निर्माणका लागि जग्गा प्राप्त गरेको जानकारी गराइएको थियो ।


SHARE THIS