पूर्वका उद्योगी व्यवसायीले भनेः बजेट राम्रो छ कार्यन्वयनमा शंका छ

काठमाडौं । बजेट राम्रो आएपनि कार्यान्वयनमा आशंका उत्पन्न भएको पुर्वका उद्योगीले गुनासो गरेका छन् । विहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको भर्चुयल कार्यक्रममा पुर्वका उद्योगीले सो कुरा बताएका हुन् ।

मोरङ उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरलेलले बजेट राम्रो आएपनि कार्यन्वयनमा शंका रहेको बताउनुभयो । उहाँले सरकारले २०७५ मंसिर २४ गतेको मन्त्रीपरिषद्को निर्णयबाट कपडाको उद्योगहरुको ऋण व्याज, भ्याटमा छुट तथा सहुलियतपुर्ण कर्जा दिने भनेर घोषणा गरेपनि अझै कार्यान्वयन हुन नसकेको गुनासो राख्नुभयो ।

त्यस्तै सरकारले छुटको घोषणा गरेपनि प्रकृयागत झन्झटका कारण उद्योगी व्यापारीहरुलाई त्यस्ता छुट लिन कठिन भएको गुनासो गर्नुभयो । त्यसैगरी छाला उद्योगको हकमा भन्सार महसुल एक देखि पाँच प्रतिशत मात्र हुनुपर्ने उद्योगीहरुको माग रहेको पनि उहाँको भनाई थियो । हाल छाला उद्योगको कच्चा पदार्थको मन्सार महसुल ४ देखि ३० प्रतिशतसम्म रहेको छ ।

त्यस्तै उद्योग संगठनका निवर्तमान अध्यक्ष भिम घिमिरेले सरकारले आगामी आर्थिक बर्षको बजेटमा डिजेलको भ्याट रिफन्ट गर्ने कुरा स्वागतयोग्य भएपनि कार्यन्वयनमा राजनीतिक तथा अन्य कारणले जटिलता हुने होकि भन्ने आशंका देखिएको बताउनुभयो ।

त्यस्तै संगठनका सदस्य पारस लुनियाले कागज उत्पादनको लागि चाहिने कच्चा पदार्थ महंगो भएको तथा नेपालमा नै उत्पादन गर्न सकिने कतिपय उपकरणहरुको पार्टसहरुको कच्चा पदार्थ आयात गर्दा कर बढी परेको गुनासो गर्नुभयो । उहाँले यदी सरकारले कम कर लिएमा नेपालमा धेरै कुराहरु उत्पादन हुन सक्ने र निर्यात पनि गर्न सक्ने लुनियाले दाबी गर्नुभयो ।

उद्योगी भोलेश्वर दुलालले बैंक तथा वित्तिय संस्थाले अहिलेपनि व्याजदर बढाएर कर्जा तिर्नको लागि दबाब दिइरहेको, ब्याजदर छुट नदिएको जस्ता समस्या व्यापारीहरुले भोगिरहेको बताउनुभयो ।

त्यस्तै उद्योगी राजकुमार गोल्छाले सरकारले जुटबालीको विकासको लागि बजेट नछुट्याएको भन्दै नेपालमा साढे दुई सय टन जुट खपत हुने गरेको भन्दै जुट बाली विकासको लागि बजेट विनियोजन गरेको भए किसानहले राम्रो कमाइ गर्न सक्ने बताउनुभयो ।

उद्योगीहरु सुरेन्द्र गोल्छा, राजकुमार गोल्छा, प्रदिप सारडा लगायतले बजेटले नीजि क्षेत्रका अधिकांश मागहरु समेटेको र कार्यान्वयका लागि अर्थमन्त्रालय लाग्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण आफूहरुले दिएको सुझाव बजेटमा नसमेटिने डर रहेपनि सरकारले अधिकांश सुझाव बजेटमा समेटेको बताउनुभयो । उहाँले सरकारले ल्याएका कतिपय कुराहरु मौद्रिक नीतिले पनि निरन्तरता दिनेमा आफू आशावादी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले यसपाली बजेट निक्कै राम्रो ल्याएको छ, रोजगारदाताले तिर्नुपर्ने सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने जेठ र असार महिनाको रकम पनि आफैले तिरिदिएको, पर्यटन उद्योगलाई उत्पादन उद्योग सरह व्यवहार गर्ने जनाएको छ साथै पर्यटन उद्योगको घाटा परिपुर्तिका लागि १० बर्षसम्मको अवधि दिएको छ यो निक्कै राम्रो कार्यक्रम हो ।’

गोल्छाले निजी क्षेत्रले बर्षौदेखि उठाउदै आएको सम्पत्ति अभिलेखीकरणको माग भने अझैपनि सम्बोधन नगरेकोप्रति गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका बर्षहरुदेखि उद्योगी व्यवसायीहरुले एक पटक सम्पत्ति अभिलेखीकरण गर्नका लागि माग गरिरहेको छ तर सरकारले दिएको छैन । यदी सम्पत्ति अभिलेखीकरण खोलीदिने हो भने लक भएर बसेको धेरै रकम बाहिर आउने थियो र उत्पादनशिल क्षेत्रमा लगानी बढ्ने थियो ।”


SHARE THIS