दश महिनामा राष्ट्र बैंकले ग-यो ३०३ अर्ब २९ करोड रुपियाँ तरलता प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पटक पटक गरी ३०३ अर्ब २९ करोड रुपियाँ तरलता प्रशोचन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा राष्ट्र बैंकले पटक पटक गरी रिभर्स रिपोमार्फत् १०९ अर्ब ५४ करोड रुपियाँ र निक्षेप संकलन उपकरणमार्फत् १९३ अर्ब ७५ करोड गरी कुल ३०३ अर्ब २९ करोड रुपियाँ तरलता प्रशोचन गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् २८ अर्ब रुपियाँ र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपियाँ गरी कुल ५८ अर्ब रुपियाँ तरलता प्रशोचन गरेको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत् २५ अर्ब ६८ करोड र स्थायी तरलता सुविधामार्फत ७४ अर्ब ६९ करोड गरी कुल १०० अर्ब ३७ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १०० अर्ब ५८ करोड गरी कुल २१६ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर तीन अर्ब दुई करोड खुद खरिद गरी ३५६ अर्ब ९३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब खुद खरिद गरी ३४६ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो ।

सो अवधिमा अमेरिकी डलर तीन अर्ब ९४ करोड बिक्री गरी ४६४ अर्ब ३४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब १८ करोड बिक्री गरी ३६४ अर्ब ७४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा वाणिज्य बैंकहरुको ११५६ अर्ब र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १६४ अर्ब ९६ करोड गरी कुल १३२० अर्ब ९७ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १३८० अर्ब ८५ करोड र अन्य वित्तीय संस्थाहरुको ११८ अर्ब सात करोड गरी कुल १४९८ अर्ब ९२ करोड अन्तर बैंक कारोबार भएको थियो ।

गत २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा १३९० अर्ब ८४ करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा १.९ प्रतिशतले बृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२१९ अर्ब ८१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १७१ अर्ब तीन करोड कायम भएको छ । २०७८ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।


SHARE THIS