राष्ट्र बैंकको निर्देशन : उपत्याकामा निषेधाज्ञाभर बैंकका छ वटा शाखाबाट मात्रै सेवा

काठमाडौं । कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि नेपाल राष्ट्र बैंकले थप कडाई गर्ने भएको छ । मङ्गलबारदेखि अब बैंकका सीमित शाखा त्यो पनि वाणिज्य बैंकले छ वटा मात्र शाखा खोल्न पाउने भएका छन् ।

पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमण र यसबाट बैंकका कर्मचारीमा पनि संक्रमण फैलिन थालेपछि नेपाल राष्ट्र बैंकले मातहतका निकायहरुलाई निषेधाज्ञा अवधिभर सीमित शाखाबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

निषेधाज्ञामा पनि कोरोना संक्रमण बढ्दो क्रममा देखिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गर्दै उपत्यकामा सीमित शाखा कार्यलय मात्रै खोलेर सेवा दिन निर्देशन दिएको  छ ।

राष्ट्र बैंक अन्तरगत बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार निर्देशन जारी गर्दै निशेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले काठमाडौंमा तीनवटा, भक्तपुरमा दुई वटा र ललितपुरमा एउटा गरी उपत्यकामा जम्मा छ वटा मात्र शाखा कार्यलय खोल्न पाउने व्यवस्था गरेको छ ।

निर्देशन अनुसार विकास बैंकहरुले पनि काठमाडांैमा दुई, भक्तपुरमा एक र ललितपुरमा एउटा गरी चार वटा शाखा खोल्न पाउनेछन् भने फाइनान्स कम्पनीले तीनवटै जिल्लामा एक एकवटा गरी उपत्यकामा जम्मा तीन वटा शाखा कार्यलय खोल्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यलय भने खुल्ला रहने निर्देशिकामा उल्लेख छ ।

गत वैशाख १९ गते जारी निर्देशन बमोजिम केन्द्रीय कार्यालय सञ्चालन गर्ने र अत्यावश्यक बैंकिङ सेवाका लागि बन्द रहेका शाखाको सम्पर्क व्यक्तिको नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुला रहने समय सम्बन्धी सूचना दैनिक रुपमा प्रकाशनमा ल्याउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।


SHARE THIS