सात महिनामा भित्रियो पाँच खर्ब ६७ अर्ब ७० करोड रूपियाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा पाँच खर्ब ६७ अर्ब ७० करोड रूपियाँ रेमिट्यान्स भित्रिएको छ ।

सात महिनामा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बृद्धि भएर पाँच खर्ब ६७ अर्ब ७० करोड रूपियाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.७ प्रतिशतले घटेकोे थियो ।

नेपाल राष्ट्र बैंकको चालु आवको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बृद्धि भई चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेकोे थियोे ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले बृद्धि भई ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेकोे थियो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा यस्तो कर्जा २१.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १७.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पनि ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३.९प्रतिशत र ४८.९प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२प्रतिशत, ३१.६प्रतिशत र ४९.९प्रतिशत रहेको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ प्रतिशत रहेको छ । २०७६ माघमसान्तमा यस्तो निक्षेपको अंश ४४.९प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ ।

यता बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति(कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ माघमसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ ।


SHARE THIS