आरटीजीएसमार्फत मासिक औसत १३ खर्ब रुपियाँ कारोबार, सहभागी वित्तीय संस्थाहरुको संख्या ३७ पुग्यो

काठमाडौं । आरटीजीएस सिस्टम तथा मोड्युलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण भएको छ ।  अन्तराष्ट्रिय दातृ निकाय डीएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा राष्ट्र बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रममा कार्यक्रममा  भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएसमार्फत हुने कारोबार हाल मासिक औसत १३ खर्ब रुपियाँ बराबर रहेको बताउनुभयो । यो सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिँदै उहाँले नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटीजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्ने यूके एड सक्षम प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा आरटीजीएस हस्तान्तरण गरी लिनका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलबीच आरटीजीएस हस्तान्तरण प्रमाणपत्र आदानप्रदान भएको छ । त्यस्तै मोड्युलर डाटा सेन्टर हस्तान्तरणका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच मोड्युलर डाटा सेन्टर प्रमाणपत्र हस्तान्तरण भएको थियो ।

सो अवसरमा नेपालस्थित बेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि यूके एडले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित बेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्क, यूके एड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS