छैठौ दिन पनि नयाँ रेकर्ड कायम, २३ सयको विन्दु पछ्याउँदै सेयर बजार

काठमाडौं । लगातार रेकर्ड ब्रेकको क्रममा रहेको सेयर बजारले छैठौ दिन नयाँ रेकर्ड कायम गर्दै २३ सयको विन्दु पछ्याएको छ ।

शेयर बजारमा लगातार छैठौ दिन बुधबार पनि अल टाइम हाइ रेकर्ड कायम गरेको नेप्से सूचक १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको हो ।

साताकै अन्तिम दिन नेप्से परिसूचकमा सुधार आउने क्रमसँगै धितोपत्र बजारको आकार पनि विस्तार भई ३१ खर्ब पुगेको छ ।

पछिल्लो समय हरेक दिन नयाँ उचाइ तय गर्दै आएको शेयर बजारले बुधबार कारोबार सुरु हँदा देखि निरन्तर सुधारको गतिमा रहेको थियो । नेप्से सूचक बन्द हुँदा १८.८१ अंकले बढेर २२८६.५४ अंकमा पुगेको छ । बुधबार कारोबार बन्द भएको नेप्सेको बिन्दु हालसम्मकै उच्च हो ।

झण्डै छ अर्ब रुपियाँ बराबरको शेयर कारोबार भएको बुधबार २०७ वटा कम्पनीको एक करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर पाँच अर्ब ९१ करोड ४३ लाख रुपियाँमा खरिद बिक्री भएको छ ।

पछिल्लो केहि दिन यता बैंकिङ समूहको सूचक उकालो लाग्दै आएकोमा बुधबार भने फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढेको छ । लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमुलक र फाइनान्स कम्पनीहरुको शेयर खरिद बढाएको देखिन्छ । यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ भने बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआइसी एशिया बैंकको १५ करोड ९३ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटाको शेयरमूल्य घटेको छ भने आठ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

बुधबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायताको १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको ३.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.७२ प्रतिशत, सिभिल बैंकको १.७९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.४६ प्रतिशतले घटेको छ ।


SHARE THIS