पाँच महिनामा रेमिट्यान्समार्फत भित्रियो चार खर्ब १६ अर्ब रुपियाँ, ह्वात्तै घटे श्रम स्वीकृति लिने

काठमाडौँ । कोरोना संक्रमणले अर्थतन्त्रका अधिकांश सूचकहरुमा शिथिलता आइरहेका बेला नेपालमा भित्रिने रेमिट्यान्समा भने उच्च बृद्घि भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।

मुलुकमा कोरोना संक्रमण शुरु भएयता निरन्तर बढ्दो क्रममा रहेको रेमिट्यान्स चालु आर्थिक वर्षको पाँच महिनामा अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले बृद्धि भएको हो ।

सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले वुधबार प्रकाशन गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिरसम्म) मा चार खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई तीन अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले बृद्धि भई ४५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा कुल आन्तरिक कर्जा छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा यस्तो कर्जा १६.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.६ प्रतिशतले बढेको छ ।

२०७७ मङ्सिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५०.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको थियो ।

२०७७ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७६ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ४५.४ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको छ ।

२०७७ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.७ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा तीन प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।


SHARE THIS