लघुवित्त संस्थाहरुले पनि एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जा पाउने

काठमाडौं । अब ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि नेपाल राष्ट्र बैंकबाट एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जा पाउने भएका छन् ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आब्हान गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सर्कुलर जारी गर्दै पुस २७ देखि आगामी माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

संस्थाको सञ्चालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन आग्रह गरेको राष्ट्र बैंकले संस्थाहरुलाई छ बुँदे शर्त समेत राखेको छ ।

पुनरकर्जा माग गर्ने संस्थाको अघिल्लो त्रैमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने, आवेदन गर्ने संस्थाको पूँजीकोष अघिल्लो त्रैमासमा राष्ट्र बैंकले तोके बमोजिम भएको हुनुपर्ने सर्कुलरमा उल्लेख छ ।

विगत तीन वर्षदेखि संस्थाका कार्यकारी तथा सञ्चालकहरुलाई कुनै प्रकारको कारबाही नभएको हुनुपर्ने, कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, विगत एक वर्षमा राष्ट्र बैंकको कारबाहीमा नपरेको हुनुपर्ने शर्त पनि सर्कुलरमा छ ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुनेगरी ब्याजदरमा समायोजन गर्नुपर्ने छ ।

राष्ट्र बैंकबाट ‘नेपाल राष्ट्र बैंक पुनकर्जा कार्यविधि, २०७७’ को बुँदा नं. ९ को ३ (क) बमोजिम इजाजतप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने साधारण पुनरकर्जाका लागि आह्वान गरिएको हो ।

१० दिन अगाडि राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि दोस्रो पटक पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको थियो ।

राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी माघ १६ गतेसम्म आवेदन पेश गर्न सर्कुलर गरिसकेको छ ।


SHARE THIS