स्टार्टअपः पर्याप्त सम्भावना, लगानी बढाऔं, प्रक्रिया सहज बनाऔं

काठमाडौं । नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकोले यसको प्रवद्र्धनका लागि आवश्यक पूँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरुले जोड दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज.(सेजन) ले मङ्गलबार संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन् ।

मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शूल्क र युवाहरुको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ । प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरुको उच्च बृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको छ । खासगरी निजी र सार्वजनिक क्षेत्रहरु असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा यस्ता किसिमका केही व्यवसायहरु असफल हुन सक्ने भएपनि भविष्यमा उनीहरुले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रुपमा उदाउन सक्ने उल्लेख गरिएको थियो । क्षेत्रीय र विश्वव्यापी रुपमै पनि यस्ता उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना पनि रहेको सहभागीहरुको बुझाई छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याहरुको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भिर भएर लाग्ने बताउनुभयो । उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवद्र्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उहाँले बताउनुभयो । आयोगले १५ औं पञ्चवर्षिय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उहाँले बताउनुभयो ।

नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भएपनि आर्थिक र कानुनी चुनौतिलाई समाधान गरेर अनुकुल वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमन भन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताउनुभयो ।

उद्यमशीलताका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । नेपालमा उद्यमशीलताका लागि विदेशी पूँजी ल्याउने विषयमा केही छलफल भएपनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पुरा गर्नुपर्ने चुनौति रहेको उहाँको भनाई छ ।

कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता बृद्धिका लागि आवश्यक पूँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताउनुभयो । तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरु नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुन सक्ने अवसर रहेको उहाँले बताउनुभयो ।

वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताउनुभयो । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिष्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उहाँको भनाई थियो । विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पूँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाईले निकै समस्या पारेको बताउनुभयो ।

कार्यक्रमा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरुको आवश्यकतालाई पनि सहभागीहरुले जोड दिएका थिए । डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरुको माग उनीहरुको थियो ।

परम्परागत रुपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारीत बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो । १५ हजार डलरदेखि दुई लाख ५० हजार डलरसम्मको लगानी आवश्यक पर्ने किसिमका डिजिटल प्रविधि उपयोग हुने व्यवसायको समग्र व्यापारचक्र सिर्जना गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।


SHARE THIS