खुम्चँदो अर्थतन्त्रमा फैलँदो रेमिट्यान्स आप्रवाह : चार महिनामै रेमिट्यान्समार्फत भित्रियो ३३७ अर्ब ७२ करोड रुपियाँ

काठमाडौं । कोरोना संक्रमणको जोखिम शुरु भएयता अर्थतन्त्र खुम्चँदै गएपनि यस अवधिको रेमिट्यान्स आप्रवाह भने ह्वात्तै बढिरहेको छ । चालु आर्थिक वर्षको चार महिनामै ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७७/७८ को चार महिनामा आप्रवाह ११.२ प्रतिशतले बृद्धि भएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वअर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रने रेमिट्यान्स आप्रवह भने निरन्तर बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले बृद्धि भई ३७३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।


SHARE THIS