बीमा कम्पनीलाई अर्थमन्त्रालयको निर्देशन, भन्यो कोरोना बीमाको भुक्तानी तीन दिनमा दिनु

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी तीन दिन भित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन बीमा समितिलाइ निर्देशन दिएको छ ।

कोरोना बीमा दाबी भुक्तानी नगर्ने कम्पनीको विवरण माग गर्दै अर्थ मन्त्रालयले समयमा नै दाबी भुक्तानी नगर्नुको उचित कारण सहित कोरोना दाबी परेका कम्पनीको नामाबली पठाइ तीन दिन भित्र भुक्तानी गर्न गराउन बीमा समितिलाई निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले यसअघि नै दिएको सात दिन भित्र दाबी भुक्तानी दिनुपर्ने निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः तीन दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको जनाएको छ ।

कोरोना बीमा दाबी भुक्तानीको लागि विभिन्न कम्पनीबाट प्राप्त दाबी, भुक्तानीमा के कस्ता समस्या देखिएका छन ? हाल कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङमा रहेको छ ? त्यसको पहल गर्नुपर्ने विषय के के हुन ? लगायतका विषयमा विस्तृत विवरण पठाउन मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ ।

मन्त्रालयको निर्देशन अनुसार बीमा समितिले मन्त्रालयमा दैनिक रुपमा कोरोना बीमाको हालसम्मको संख्या, कागजात पुरा भएको दाबीको संख्या, भेरिफिकेशनको लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पुरा भइ भुक्तानी हुन बाँकीको विवरण मन्त्रालयमा पठाउनुपर्ने भएको छ । समितिले यसअघि दिएको निर्देशन बमोजिम प्रगति विवरण नपठाएका कारण बिहीबार नयाँ निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कोरोना पोजेटिभ रिपोर्टको भेरिफिकेशन गर्न बाँकी र दाबीको भेरिफिकेशन चाँडो सकेर भुक्तानी तीन दिनमा गरेर दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको हो ।




SHARE THIS