श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश दिने

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको यहाँ बसेको २१औ वार्षिक साधारण सभाले सो प्रस्तावलाई पारित गरेको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले संस्थाको आ.व. २०७६/७७ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभयो ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको भनाई थियो ।

सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारी मध्ये  उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । त्यसैले सरकारले यो संस्थालाई नमुना सहकारी घोषणा गरिसकेको बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार सहकारी संघ संस्थाहरुको सेयर पूँजी एक खर्ब भन्दा बढी रहेको, बचत परिचालन आठ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ ।

उहाँले देशभरका सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा तीन लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको बताउनुभयो ।

सहकारी क्षेत्रको पँुजीलाई उर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजना तथा उद्योगमा लगानी गर्ने वातावरण सिर्जना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाँले सहकारी मार्फत बचत ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

सहकारी मार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिंदै  उहाँले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने स्पष्ट पार्नुभयो । संस्था स्थापना भएको दुई दशकमा सहकारीको सेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको छ भने अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्थाले संस्था स्थापना भएको दिन असोज यही १५ गतेदेखि “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” सञ्चालन भएको उहाँले जानकारी गराउनुभयो । संस्थाले निकट भविष्यमा काठमाडांैको नयाँ बजार, महाराजगञ्ज, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको  पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको  हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ वानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि.÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लिमिटेडलगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

साधारणसभामा संस्थाका १७ जना जेष्ठ सेयरसदस्य, संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट र पाँच वर्षे सेवा गरेका कार्यक्रममा सर्वोत्कृष्ठ कर्मचारी सविना विष्ट सहित पाँच जना उत्कृष्ठ कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ । साथै सभाले सेयर सदस्यहरुलाई १२ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति

संस्थाको साधारणसभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ । नव निर्वाचित कार्य–समितिका उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित हुनुभएको छ ।

आगामी चारवर्षे कार्यकालको लागि भएको निर्वाचनबाट सदस्यहरुमा कदम जोशी प्रधान, भोला कुमार श्रेष्ठ र आर्या सिंह भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

लेखासमिति संयोजकमा पुण्यप्रसाद पोखरेल तथा सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।


SHARE THIS