झण्डै २१ सय अंक पछ्याएको सेयर बजारमा अन्तिम दिन दोहोरो अंकको करेक्शन, कारोबार भने आठ अर्बमाथि

काठमाडौं । पछिल्लो साता रेकर्डमाथि रेकर्ड ब्रेक गर्दै निरन्तर उकालो लागेको सेयर बजार साताको अन्तिम दिन भने दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो सात कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक बिहीबार भने करेक्सन भएको हो । पछिल्लो सात कारोबार दिनमा २९०.५९ अंक बढेको नेप्से अन्तिम दिन भने घटेको हो ।

पछिल्लो १५ कारोबार दिनमा लगातार बढेर ४३५ अंक माथि उक्लिएको शेयर बजारमा बिहीबार पहिलो पटक दोहोरो अंकको करेक्शन आएको छ । पछिल्लो १५ कारोबारमा बीचमा एकदिन दुई अंकको झिनो करेक्शन देखापरे पनि बिहीबार भने दोहोरो अंकको करेक्सन आएको हो ।

गत कात्तिक २३ बाट लगातार बढेको बजार मङ्सिर ८ गते दुई अंकले घटेको थियो । त्यसपछि निरन्तर बढेको बजारले हालसम्मकै सर्वाधिक उचाई हासिल गरेको थियो । निरन्तर बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु बढेपछि बजारले करेक्शनको बाटो समातेको हो । विश्लेषकहरुले समेत करेक्शन नभई बढेको बजारमा बढी जोखिम हुने बताउने गरेका थिए ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.५७ अंक घटेर २०५५.४५ विन्दुमा झरेको छ । यस दिन २०० कम्पनीको ६४ हजार ४२६ पटकको कारोबारमा आठ अर्ब दुई करोड ६० लाख २३ हजार रुपियाँ बराबरको एक करोड ५८ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार बजार घटेपनि लगानीकर्ताहरु खुशी नै देखिएका छन् । लामो समयदेखि बिना कुनै करेक्सन नेप्से उकालो लागिरहेका कारण लगानीकर्ताहरुमा यो बृद्धि दिगो नहोला कि भन्ने चिन्ता थियो । तर, यस दिन बजारमा देखिएको करेक्सनले लगानीकर्ताहरुलाई अबका दिनमा बजार अझ बढ्छ भन्ने संकेत गरेको विश्लेषकहरु बताउँछन् ।

बिहीबार आठ अर्बको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । विभिन्न सञ्चार माध्यममा आएका विभिन्न समाचारका कारण यस दिन सो कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताहरुको ओइरो लागेको थियो । अर्कोतिर भने राम्रो कम्पनी हो भन्दै खरिद गर्ने लगानीकर्ताहरुमा पनि कुनै कमी आएन ।

समग्रमा नेप्से ओरालो लागेपनि दुई उपसमूहका परिसूचक भने हरियो देखिएका छन् । जलविद्युत र माइक्रोफाइनान्स उपसमूहका परिसूचक बढेको यस दिन बाँकी सबै उपसमूहका परिसूचक घटेका छन् । जलविद्युत उपसमूहको परिसूचक ०.६ प्रतिशत र माइक्रोफाइनान्सको ०.९५ प्रतिशत बढेको यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक ६.९४ प्रतिशत घटेको छ ।

नेप्सेमा करेक्सन भएपनि अन्तिम दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एभरेष्ट बैंकको संस्थापक शेयर र अपर तामाकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन् । त्यसैगरी, नेपाल सेवाको शेयरमूल्य ९.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको विशाल बजार कम्पनीको शेयरमूल्य भने सर्वाधिक ६.९७ प्रतिशत घटेको छ ।


SHARE THIS