टाइ सुट लगाउने सञ्चालकले मात्रै सहकारीबाट लाभ लिए, साग बेच्ने, चप्पल लगाएर हिँडने सदस्य बञ्चित भए : रजिष्ट्रार डा. पाण्डे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी संस्था साग बेच्ने, चप्पल लगाएर हिडने सदस्यलाई भन्दा संस्था बलियो बनाएर टाइ सुट लगाएर हिँडने व्यक्तिहरुले लाभ लिने प्रवृति बढेको बताउनुभएको छ । ‘टाईसुट लगाएकालाई बलियो बनाउने कि चप्पल लगाएका सदस्यलाई बलियो बनाउने भन्ने सहकारी अभियानले हेक्का राख्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी गुणस्तर मापन’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा उहाँले प्रमाणीकरणमा धेरै प्रश्न उठेकाले विभागले गुणस्तर मापनबाटपछि हटेको जानकारी गराउनुभयो ।

‘गुणस्तर प्रमाणीकरणमा कानूनको परिपालना गर्न विभागले जोड दिएको छ ।’ उहाँले भन्नुभयो – ‘प्रमाणीकरण राम्रो काम भयो तर विभाग संलग्न हुनैपर्छ भन्नै छैन, गुणस्तरको प्रमाणपत्र दिँदा कोड अफ कन्डक्ट पालना नहुने, विजनेशमा इन्ट्रेस्ट बाझिने भएकाले विभागले मापनबाट पछि हटेको हो ।’

‘गुुणस्तर मापन नराम्रो होइन तर हामीले मापन गर्दा जटिलता आउने देखिएकाले समस्या भएको हो’ । कानुनको पालना गर्नमा सहकारी अभियानले पनि चासो नदिएको र विभागले पनि गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।

पछिल्लो समयमा सहकारी अभियान सुधारोन्मुख भएको भन्दै उहाँले भन्नुभयो – ‘जिम्मेवारीमा रहँदासम्म सदस्यलाई बलियो बनाउने मेरो जोड हुने छ, सदस्यलाई भन्दा संस्था बलियो बनाउनेतर्फ ध्यान केन्द्रित भएको छ ।’

सहकारी सुशासनमा विभागले विशेष ध्यान दिएको भन्दै उहाँले भन्नुभयो – ‘गुणस्तरमा जाने सहकारीमा सुशासन हुन्छ भन्ने मलाई विश्वास छैन । गुणस्तर डिमान्ड बेस हो कि सप्लाई बेस हो भन्ने मुख्य कुरा हो ।’ नेफ्स्कुनले ब्रान्डिङ सुरु गरेपछि अहिले सबै केन्द्रीय संघले नक्कल गर्न थालेको भन्दै उहाँले नियमन सिष्टमले गर्नेगरी अघि बढेको बताउनुभयो ।

कोपोमिसमा आबद्धता अनिवार्य गर्न लागिएको बताउँदै उहाँले देशभरका सहकारीको कारोबार अनलाइनबाट आउने गरी कार्यान्वयनमा ल्याउन लागेको बताउनुभयो ।

सहकारी ऐन र नियमाबली कार्यान्वयन गर्न २० वटा कार्यविधि बनाइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका  अध्यक्ष मीनराज कँडेलले ब्रान्डेड सधैंभरीलाई नहुने बताउनुभयो । सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने भन्दै उहाँले  एक वर्षभित्र तुरुन्तै नबिग्रने बताउनुभयो । एकचोटी ब्रान्डिङ भएपछि पछि व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्ने उहाँले बताउनुभयो ।

वित्तीय कारोबार, संस्थागत सुशासनमा स्तरीकरणले महत्वपूर्ण टेवा पुग्ने भन्दै उहाँले भन्नुभयो – ‘सदस्य सचेत हुने हो भने स्वमियन प्रभावकारी हुन्छ ।  सम्बन्धीत संघ र नियमन निकायले नियमन गर्नु अपरिहार्य हुन्छ ।’

संस्थामा खराखी नआओस् भनेर गुणस्तर मापन गरिन्छ । अहिले बचत सहकारीमा मात्रै भएपनि भोलि अन्य प्रकृतिका सहकारीमा पनि गुणस्तर मापन गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।

अन्तराष्ट्रिय सहकारी गुणस्तर मापदण्डमा चल्ने सहकारीमा कुनै समस्या नहुने भन्दै उहाँले महासंघले पनि गुणस्तरलाई उच्च प्राथमिकतामा दिएको बताउनुभयो । महासंघले सहकारी स्तरीकरणका लागि कार्यविधि बनाउन थालिएको भन्दै उहाँले भन्नुभयो – ‘महासंघले विज्ञ समूह बनाएर गुणस्तरमा सघाउ पु¥याउनेगरी महासंघ अघि बढ्दै छ ।’

गुणस्तरमा जान दुईमत नभएको र धेरै तहमा नियमन निकाय भएकाले संयुक्तरुपमा अनुगमन गर्न आवश्यक भएकोे बताउँदै उहाँले कमजोरी गर्ने सहकारीलाई नियमक निकायले कारबाही गर्न सक्ने बताउनुभयो ।

‘एउटा संस्थाले खराब गर्दा सिंगो अभियान नै बदनाम हुने भएकाले संयुक्तरुपमा अनुगमन गरी सहकारीमा गुणस्तर कायम गर्नुपर्छ । सबै सहकारीमा गुुणस्तर छ भन्नेमा हामी पनि विश्वस्त छैनौं ।’ – उहाँले भन्नुभयो ।

नीति, विधिले सहकारी चल्ने भएकाले ब्रान्डलाई सामान्य ढंगले हेर्न नहुने उहाँको भनाइ छ । ‘ती संस्थाले सेवाशुल्कका नाममा एक पैसाा पनि लिएका छैनन् ।’ – उहाँले भन्नुभयो । अनुगमन गरेका सहकारी पनि सबै राम्रा नभएको भन्दै उहाँले भन्नुभयो – ‘ओरेण्टल सहकारी समस्यामा पर्नु अघि विभागले नियमन गरेर राम्रो रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।’

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेको बताउनुभयो । सहकारी सुशासनमा नगएर नै समस्या आएको भन्दै उहाँले महासंघ र विभागको अगुवाईमै ऐन, नियमावली नबाझिने गरी गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको बताउनुभयो ।

ऋण दिने क्रममा सहकारीमा धेरै समस्या देखिएकाले सुशासनमा ल्याउन आवश्यक भएको उहाँले बताउनुभयो । बिनाधितो ऋण दिँदा जोखिम धेरै हुने भएकाले गुणस्तर मापन गरेर गुणस्तरयुक्त सहकारीलाई बिना धितो पनि ऋण दिन सक्नेगरी बैंकले ब्राण्डिङ गर्न खोजेको उहाँले बताउनुभयो । स्तरीकरण विभाग नै गठन गरेर खराब कर्जा हटाउन ब्रान्डिङ गर्न खोजिएको उहाँको भनाइ छ । सहकारी स्वनियमनमा जान ब्राण्डले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले भन्नुभयो – ‘सहकारीमा सुशासन ल्याउन गुणस्तर मापन नै मुख्य माध्यम हो । यसले सहकारी स्वनियमनमा चल्ने र पारदर्शी हुन सघाउ पुग्ने छ ।’ सहकारी व्यवस्थित गर्न महासंघ र विभागको नै मुख्य भूमिका हुने उहाँको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेको मध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताउनुभयो । वित्तीय सहकारीमा सेफ्टी एण्ड साउन्ड सिष्टम जोडिएर आउने भएकाले ब्रान्डमा सुरक्षाले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

वित्तीय सहकारीमा चुनौती बढी हुने र स्थरीकरण कोषले चुनौती निराकरण गर्न सघाउ पु¥याउने भन्दै उहाँले सहकारी विभागसँग सहकार्य गरेर प्रोबेसन ब्राण्ड सुरु गर्दैै प्रमाणाीकरण प्रक्रिया अघि बढाइएको बताउनुभयो । सूचांकमा फेरबदल गर्दै नेपालमैत्री बनाइएको भन्दै उहाँले प्रोबेसन, स्थरीकरण र जोखिममा आधारित साकोस सुपरीपेक्षण कार्यक्रमका माध्यमबाट सहकारीको गुणास्तर मापन गर्दैै आएको बताउनुभयो ।

स्थरीकरण कार्यक्रम र स्तरीकरण कोषले सहकारीको सुरक्षा प्रदान गर्ने र शुद्धिकरण सुदृढिकरणमा सघाउ पुग्ने उहाँले बताउनुभयो ।

देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहले सहकारीको सुपरीवेक्षण गर्न समस्या परेको उहाँले बताउनुभयो । प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र परेका सहकारीलाई विभागले प्रमणीकरण नगर्ने तर क्षेत्राधिकार भन्दा बाहिरका सहकारी नियमन गर्नु उचित नभएको उहाँले बताउनुभयो ।

प्रदेश र स्थानीय तहको साझेदारीमा जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम अघि बढाइएको अध्यक्ष पौड्यालले बताउनुभयो । प्रमाणाीकरणबाट विभाग पछि हटेपनि एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सहकार्यमा नेफ्स्कुनले प्रमाणीकरण निरन्तरता दिदैँ आएको उहाँले बताउनुभयो । सहकारीको डिजिटाइजेसन र गुणस्तरीयता सुनिश्चिततामा विशेष ध्यान दिएर अघि बढ्ने उहाँले बताउनुभयो । आइएसओ तहका लेखापरीक्षकका सहकारीको नियमन गर्दै ब्रान्डिङ गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष पौड्यालले मिलिजुली सहकारीको ब्रान्डिङ विवादको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने जानकारी दिंदै भन्नुभयो – ‘सम्झौता अनुसार नै विभाग र नेफ्स्कुन सहकार्य गरी सहकारीको प्रमाणाीकरण गर्दै आएका थियौं । अहिले विभागले हात झिकेपछि छुट्टै कार्यविधि बनाउन लागेका छौं ।’

ब्राण्डेड भएका सहकारीले दिने बचतमा ब्याज बढी र ऋणमा सुलभ कर्जा पाइरहेको उहाँले दाबी गर्नुभयो । पारिवारिक रुपमा सहकारी चलेपनि पछिल्लो समयमा त्यस्ता सहकारीको वित्तीय सुचंक राम्रै देखिएपनि सोचेर मात्रै ब्रान्डिङ सुरु गर्न लागिएको उहाँको भनाइ छ । ब्रान्डिङमा परेको सहकारी वडा अध्यक्षसमेत रहेको पाइएपछि अध्यक्षले ब्रान्डिङका लागि राजीनामा दिएको उहाँले बताउनुभयो  ।

कार्यपत्र प्रस्तुत गर्दै सहकारी विज्ञ सुदर्शनप्रसाद ढकालले नियम र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताउनुभयो । सहकारीको स्वामित्व सहकारीले लिन नसकेको र नियमनमा समस्या रहेको भन्दै उहाँले राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नमान्दा सहकारीमा दिनप्रतिदिन समस्या बढ्दै आएको  भनाइ राख्नुभयो ।

सहकारीको नेटवर्क समस्या रहेको भन्दै उहाँले जनताको पैसा सुरक्षित गर्न सहकारी क्षेत्र चुकेको बताउनुभयो । व्यवस्थापन कमजोर हुँदा सहकारीमा दिनप्रतिदिन समस्या आएको भन्दै उहाँले सबै सहकारीको ब्रान्डिङ गर्न आवश्यक नभएको बताउनुभयो ।

बैंक र नेफ्स्कुनले ब्रान्डिङ गर्ने दोहोरोपना भएको उहाँको भनाइ छ । सहकारीका समस्या समाधान गर्न राज्य र अभिायनका निकाय सम्मिलित छुट्टै नियमक निकाय बनाउन आवश्यक भएको उहाँले बताउनुभयो ।

१८ महिनाभित्र सहकारी नियमन हुनुपर्ने र संस्थाको क्षमता बृद्धिमा ध्यान जानुपर्ने भन्दै सहकारीको संख्या थोरै तर शाखाहरु धेरै हुने उहाँको भनाइ छ । ब्रान्डले सहकारी चिनाउने उहाँको भनाइ छ ।

राम्रो गर्ने सहकारीलाई प्रोत्साहन र नराम्रो गर्ने सहकारीलाई सजाय दिनुपर्ने भन्दै उहाँले अभियानले सहकारीको ब्रान्डिङ गर्न ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीमा सुपरभिजन र ब्रान्डिङ अलगअलग भएकाले नियमन निकायले त्यसरी नै हेर्नुपर्ने उहाँले बताउनुभयो ।


SHARE THIS