बाह्र हजारभन्दा बढीले पाए कोरोना बीमा दाबी भुक्तानी, ५० वटा आवेदन भुक्तानी पाउन अयोग्य

गीता पौडेल

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार १९३ कोरोना संक्रमितले एक अर्ब १९ करोड सात लाख रुपियाँ दाबीवापत भुक्तानी प्राप्त गरेका हुन् ।

समितिका अनुसार दाबी भुक्तानीका क्रममा कागजपत्र पुरा भएका २३ हजार ५६ जनामध्ये १२ हजार १९३ जनाले भुक्तानी प्राप्त गरेका हुन् ।

हालसम्म ५० जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरेको पनि समितिले जनाएको छ ।

समितिका अनुसार दुई हजार १११ जनाको दाबी प्रक्रियामा रहेको, दुई हजार ५५४ जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ११ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको समितिले जनाएको छ ।

पछिल्लो समय सर्वाधिक चासो र चर्चाको विषय बनेको कोरोना बीमा र यसको भुक्तानीप्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको थियो ।

कोरोना बीमाका बीमितहरुको दाबी भुक्तानीमा गुनासो बढ्दै गएपछि सरकारले यसबारे समयमै भुक्तानीमा चासो दिंदै आएको थियो ।

अर्थमन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रकृया तथा कागजात पूरा भएका दाबीहरूको भुक्तानी तीन दिनभित्र गर्न निर्देशन पनि दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार बीमा समितिले मन्त्रालयमा दैनिक रुपमा कोरोना बीमाको संख्या, कागजात पुरा भएको दाबीको संख्या, भेरिफिकेशनको लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पुरा भइ भुक्तानी हुन बाँकीको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो ।


SHARE THIS