बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १५.८ प्रतिशतले बढ्यो


काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६÷७७ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत अंश रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.३ प्रतिशत र ४७.९ प्रतिशत रहेको थियो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१ प्रतिशत रहेको छ । २०७५ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत नै रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४.९ प्रतिशत घरजग्गाको धितोमा र १३.५ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ ९.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.७ प्रतिशत, निर्माण क्षेत्रतर्फ ९.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ८.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १०.६ प्रतिशतले कर्जा बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १५.८ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.४ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.४ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा १०.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.० प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.६ प्रतिशतले बढेको छ ।

SHARE THIS