ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा ब्रोकरले लिने कमिशन घटाउन निर्देशन दिनुभएको छ ।

पूँजी बजारको विभिन्न सरोकारवाला पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन उहाँले  निर्देशन दिनु भएको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उहाँले कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो । ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस’ – उहाँले भन्नुभयो ।

पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो ।

साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिँदै उहाँले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिनुभयो ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

पछिल्लो समय ऐतिहासिक उचाई, उच्च कारोबार रकम, पूँजीकरण, कारोबार संख्यालगायतका दर्जनौं रेकर्डहरु कायम गरेको सेयर बजारमा ब्रोकरले लिने कमिशनको चर्चा पनि चुलिएको छ । ब्रोकरले लिने कमिशन धेरै भयो भन्ने लगानीकर्ताको गुनासो रहँदै आएको छ भने ब्रोकरको पनि आफ्नै तर्क छ ।

लामो समयदेखि कमिसन घट्नुपर्ने माग राख्दै आएका लगानीकर्ताहरुले धितोपत्र बोर्डले १ कात्तिकदेखि कमिसन घटाउने निर्णय गरे पनि अझै कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन् ।

गत कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति समाउन सकेको थिएन । कोरोना कहरमा चैत दोस्रो सातादेखि असार दोस्रो सातासम्म ९८ दिन रोकिएको सेयर लकडाउनकै बीचमा वैशाखमा दुई दिन कारोबार भएको थियो । तर त्यसले निरन्तरता पाउन सकेको थिएन । गत चैत १२ गतेदेखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भएपछि अधिकांश लगानीकर्ताहरूले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् ।

अनलाइनबाट सेयर कारोबार भएका कारण ब्रोकरहरूको कार्यालय सञ्चालन खर्चमा कटौती भएकाले ब्रोकर कमिशन घटाउनुपर्ने तर्क राख्छन् भने ब्रोकरहरुले अन्तराष्ट्रियको दाँजोमा नेपालको कम भएको बताउँछन् ।


SHARE THIS