ऐतिहासिक रेकर्ड ब्रेक गर्दै सेयर बजार : नेप्से १९ सय नजिक, कारोबार रकम साढे सात अर्बमाथि

गीता पौडेल

काठमाडौं । पछिल्लो समय निरन्तर रेकर्डमाथि रेकर्ड ब्रेकमा लागेको सेयर बजारले साताको अन्तिम दिन पनि पुराना रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १९ सयको विन्दु नजिक पुगेको छ भने कारोबार रकम पनि साढे सात अर्बमाथि लागेको छ ।

यस साताको सेयर बजार ऐतिहासिक रेकर्ड नै रेकर्ड ब्रेक गर्दै बन्द भएको छ । अन्तिम दिन शेयर बजारमा नेप्से सूचकसँगै कारोबार रकम, कारोबार संख्या (पटक), अनलाईबाट कारोबार प्रतिशत र बजार पूँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएर बन्द भएको छ ।

अन्तिम दिन कारोबार संख्याको आधारमा पनि नयाँ रेकर्ड कायम भएको छ । यस दिन एकैदिन ७० हजार तीन वटा कारोबार भएको छ । यसभन्दा अघि २०७७ असोज ४ गते एकैदिन ६४ हजार ५१५ वटा कारोबार भएको थियो । त्यो कीर्तिमानलाई बिहीबारको कारोबार संख्याले तोडेको हो ।

यस्तै अनलाईबाट भएको शेयर कारोबारको प्रतिशत पनि हालसम्मकै उच्च भएको छ । आज २३ हजार ५० लगानीकर्ता सहभागि भएर भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो ।यसअघि मंसिर ४ गते ३० हजार लगानीकर्ता सहभागी थिए दिन भएको कारोबारमध्ये ८६.२४ प्रतिशत कारोबार अनलाइनमार्फत भएको थियो ।

यसैगरी धितोपत्रको दोस्रो बजार पूँजीकरण पनि हालसम्मकै उच्च बनेको छ । बिहीबार बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८० हजार रुपियाँ पुगेको छ । यसभन्दा अघि बुधबार मात्रै २५ खर्ब १३ अर्ब १५ करोड ८२ लाख ३० हजार रुपियाँ रहेको थियो ।

कारोबार कित्ताका आधारमा भने अन्तिम दिन नयाँ रेकर्ड बन्न सकेन । बिहीबार एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबारमा आएको छ । यसअघि मङ्सिर १० गते बुधबार कारोबार कित्ताका आधारमा सबैभन्दा धेरै एक करोड ८८ लाख ४६ हजार १८१ कित्ता कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो ।

अन्तिम दिनको नेप्से परिसूचक १८.४३ अंकले उकालो लागेर १८९३.२४ को विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले उकालो लागेर ३६५.१८ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक ०.९८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशतले उकालो लागेको छ ।

बुधबार पनि नेप्से परिसूचक ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले उकालो लागेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको थियो । जुन बुधबारसम्मकै तेस्रो उच्च विन्दुभन्दा माथि थियो । २०७३ साउन ११ गते नेप्से १८६६.५० विन्दुमा पुगेको थियो ।

अन्तिम दिन २०१ कम्पनीहरुको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७० हजार तीन पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ३० लाख ९१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन सेयर बजारमा हालसम्कै उच्च कारोबार रकम हो ।

चारवटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको विहीबार एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन उर्जा र आँखु खोला जलविद्युतको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । नबिल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य उकालो लागेको छ ।

यता साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले ओरालो लागेको छ भने ङादी ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले ओरालो लागेको छ ।

यो साताको अन्तिम दिन नेपाल पुनर्बीमा कम्पनकिो ५८ करोड १३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा अगाडि रहेको छ भने नविल बैंकको ३८ करोड ३४ लाख, शिवम सिमेन्टको २८ करोड ९१ लख, नेपाल दुरसञ्चार कम्पनीको २८ करोड २७ लाख र नेपाल बैंकको २५ करोड ५१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका ४८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ११७ वटा कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । सात वटा कम्पनकिो सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

अन्तिम दिन कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङ, हाइड्रोपावर, उत्पादन र प्रशोधन, अन्य र म्युचुअल फण्डको सूचक उकालो लागेको छ भने बाँकी सबै उपसमूह ओरालो लागेका छन् । अन्तिम दिन पनि बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको छ । बैंकिङ उपसमूहको सूचक सर्वाधिक ३७.७६ अंकले सुधारिएको बिहीबार हाइड्रोपावर ६.८२ अंक, उत्पादन र प्रशोधन ०.०९, अन्य १५.३६ र म्युचुअल फण्डको सूचक ०.०७ प्रतिशतले बढेको छ । यता ट्रेडिङ १३०.६६ अंक, होटल ४३.६५, विकास बैंक ८.३५, फाइनान्स ५.८७, जीवन बीमा १६५.०१, माइक्रोफाइनान्स १६.६५, जीवन बीमा १३४.३२ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बिहीबार कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको जनाएको छ । यस अघि २०७७ मङ्सिर ७ गते छ अर्ब ९० करोड रुपियाँ बराबरको कारोबार भएको र २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

नेप्सेले मिति २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको जनाएको छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले जनाएको छ ।

पुँजी बजारको विकास तथा विस्तारका लागि नेप्सेले सञ्चालन गरेका गतिविधिमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डको मागनिर्देशन तथा लगानीकर्ता, प्रणाली निर्माणकर्ता कम्पनी, सदस्य दलाल, मिडिया लगायत अन्य सरोकारवालाहरुको सहयोग रहदै आएको छ । आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवालाहरु बाट यस्तै किसिमको सहयोग प्राप्त हुने अपेक्षा नेप्सेले गरेको छ ।

नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयरको कारोबार गर्न पाएका छन भने रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा पनि सहजता आएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि एक लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । बिहीबारको कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी थिए भने यो दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको नेप्सेले जनाएको छ ।


SHARE THIS