​छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिनुभएको छ । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउनुभयो ।

योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उहाँले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै भन्नुभयो, “हिजो झैँ आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ ।”अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि उहाँले बताउनुभयो ।

नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उहाँले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने बताउनुभयो । “नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गर्नु जरुरी छ । हामी गत वर्षदेखि नै १४ वटा मापदण्डमाथि आइसकेका छौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अरु मापदण्डमा पनि हामी अगाडि आउँदै छौँ । विकासका सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ ।”

दिगो विकास लक्ष्यको श्रमसम्बन्धी लक्ष्य हासिल गर्न पर्याप्त ध्यान दिइएको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य तथा उपलक्ष्य पूरा गर्ने गरी सामाजिक सुरक्षा कोषको परिचालन, वृद्धि र दायरा, सहभागीको सङ्ख्या, कोष सबलीकरण र विकास गर्ने योजना अगाडि बढाइएको बताउनुभयो । दिगो विकाससम्बन्धी १७ मूल लक्ष्य १६९ उपलक्ष्य छन् । मूल लक्ष्यको ८ नं बूँदामा श्रम, सामाजिक सुरक्षा, श्रम र श्रमिकको हकसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । तत्कालीन नेकपा ९एमाले०को नौमहिने सरकारको कार्यकालमा वृद्ध भत्ता वितरण गरेर सामाजिक सुरक्षा अवधारणा शुरु गरिएको स्मरण गर्दै उहाँले हरेक नागरिक सचेत हुन र तिनले सामाजिक सुरक्षाका सन्दर्भमा योगदान गर्नुपर्ने भनेर योगदानमा आधारित सामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे शुरुआत गरिएको बताउनुभयो ।


SHARE THIS