निजी क्षेत्र सरकारको सम्पत्ति र निजी क्षेत्रको विकासको लागि सधैँ तयार : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनौतीपूर्ण घडीमा मुलुकको आर्थिक विकासलाई अगाडी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको शुक्रबार एक विशेष समारोहका बीच प्रधानमन्त्री निवास वालुवाटारमा समुदघाटन गर्दै उहाँले निजी क्षेत्रको सर्वोच्च संस्था महासंघको मुलुुकको आर्थिक विकासमा निकै ठूलो योगदान रहेको चर्चा गर्नुभयो । उहांले आफूले महासंघलाई सदैव उच्चस्थानमा राखेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडले उद्योग व्यवसायमा परेको असरलाई सरकारले गम्भीरता पूर्वक हेरिरहेको भन्दै अन्य देशले आर्थिक पुनरउत्थानको लागि थुप्रै कार्यक्रम लिएर आएको तर नेपाल सरकारले केही दिएन भनेर गुनासो गरेको पनि आफूले सुनेको बताउनुभयो ।

अब चाँडै सरकारले आफ्नो क्षमता र गच्छे अनुसार राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । सरकारले दिने सहयोग पर्याप्त नहुने भएपनि सरकारको क्षमता अनुसार हुने भएको बताउँदै उहाँले सो प्याकेजमा गुनासो नगर्न आग्रह गर्नुभयो ।

नेपालको उत्पादकत्व र उत्पादन बढाउन व्यवसायीलाई आग्रह गदै उहाँले भन्नुभयो – ‘अन्य मुलुकहरूको आर्थिक बृद्धिदर नकारात्मक हुने प्रक्षेपण भइरहँदा हाम्रो मुलुकको आर्थिक बृद्धिदर शून्यमै झरे पनि नकारात्मक तर्फ नजाने भएकोले त्यसलाई उपलब्धिको रुपमा लिनुपर्छ ।’

नेपालको व्यवसायिक क्षेत्रमा दलाल पूँजीबाद र नव उदारवादको विशेषण झुन्ड्याएर सरकार र निजी क्षेत्रमा फाटो ल्याउन खोजिएको भन्दै उहाँले भन्नुभयो – ‘सरकारका लागि निजी क्षेत्र आफ्नो सम्पत्तिको रुपमा रहने र उसको विकासको लागि सधैँ तयार रहन्छ ।  सरकारका लागि कुनै पनि व्यवसायी आफ्नो र अर्को पक्षको हुँदैन, सबै व्यवसाय र व्यवसायी साझा हुन्छ ।’

प्रधानमन्त्रीले मुलुक भित्रै पूँजी परिचालन गरेर रोजगारी सिर्जना गर्न व्यवसायीलाइ प्रोत्साहित गर्नुभयो । तर,नेपालबाट पूँजी बाहिर लैजाने विषयमा भने कडाइ गरिने भन्दै उहाँले भन्नुभयो – ‘स्वेदेशी पूँजी बाहिर लैजाने विषय सुल्टो नभएर उल्टो बाटो हो । स्वदेशी लगानी स्वदेशमै रहने विषयमा सरकार सकारात्मक रहे पनि स्वदेशी पूँजी बाहिर लैजाने विषयमा भने सरकार सहयोगी हुँदैन ।’

वर्तमान कार्यकालसंग पनि सरकारले साझेदारीमा थुप्रै कार्य गरेको र आफूले सदैव एकैसाथ लगेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले कोभिडको अहिलेको चुनौतीपूर्ण घडीमा अब आउने नयां नेतृत्वसंग आगामी दिनमा सघन रुपमा आर्थिक सहकार्य गर्ने उद्घोष समेत गर्नुभयो । प्रधानमन्त्रीले महासंघका हालका वरिष्ठ उपाध्यक्ष एवं अवको नेतृत्वका अध्यक्ष शेखर गोल्छालाई बधाई समेत दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वर्तमान अध्यक्ष भवानी राणाले विदेशबाट स्वदेश फर्किरहेका करिब १० लाख नेपालीलाइ  मुलुकमा रोजगारी सिर्जना गर्नु पर्ने बताउँदै त्यसका लागि सरकार र निजी क्षेत्रको सहयोगी भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आगामी दिनमा कोभिडसँग लड्न रणनीतिहरू तयार पारिरहेकोले त्यसमा सरकारको साथका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले कोभिडबाट अर्थतन्त्र उकास्न राहत प्याकेजको आवश्यकतामा जोड दिनुभयो । पुनरकर्जाको कोष बढाएर दुई खर्ब पु¥याउनुपर्ने र मौद्रिक नीतिले दिएको सुविधा कार्यान्वयनमा ल्याउन उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले महासंघको वर्तमान कार्यकालको गतिविधि समेटिएको पुस्तकको विमोचन गर्नुभयो । साथै प्रधानमन्त्रीबाट महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्व अध्यक्षहरु क्रमशः महेशलाल प्रधान, विनोद कुमार चौधरी, पद्य ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गर्नुभयो भने निवर्तमान अध्यक्षलाई महासंघको पूर्व अध्यक्षको पीन पनि सो अवसरमा प्रदान गरियो ।

कार्यक्रममा महासंघको संघीय संरचना अनुसार प्रादेशिक आर्थिक विकास र निजी क्षेत्रको भूमिका बढाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरु क्रमशः नरेन्द्रकुमार खडका, प्रदेश १, शिव शंकर साह हिरा, प्रदेश २, दिनेश श्रेष्ठ, वागमती प्रदेश, संजिव बहादुर कोइराला, गण्डकी प्रदेश, गुणनिधि तिवारी, लुम्विनी प्रदेश, पदम बहादुर साही कर्णाली प्रदेश र शंकर वोकटी, सुदूरपश्चिम प्रदेशलाई कदरपत्रबाट सम्मानित गरियो । 

साथै महासंघसंग नजिकमा रहेर कार्य गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरु, अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जीआइजेड नेपाल कार्यालय, ब्रिटिश काउन्सिललाई पनि कदरपत्रबाट सम्मानित गरियो ।

त्यसैगरी ख वर्गबाट क वर्गमा स्तरोन्नती भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यवसायिक विकासमा उल्लेख्य योगदान गरेवापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदर पत्र प्रदान गरियो । त्यस्तै महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु क्रमशः उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरु वावुराम निरौला, विन्दू श्रेष्ठ, विभुति प्रधान, कार्यालय सहयोगीहरु पित्तनारायण श्रेष्ठ र राधीका नेपालीलाई नगद सहित कदरपत्र प्रदान गरियो । त्यसैगरी मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्र विषयमा कलम चलाउने आर्थिक पत्रकारहरुलाई पनि सम्मान गर्ने घोषणा सो अवसरमा गरियो ।

बिहीबारदेखि शुरु भएको महासंघको ५४ औं वार्षिक साधारणसभा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट स्वीच अन गर्दै औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओली, अतिथिहरूमा उद्योग मन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतीलाल दुगड, संघ संस्थाका प्रतिनिधि र विभिन्न देशका राजदुतावसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा महासंघको वर्तमान कार्यकालका गतिवधिहरु समेटिएको भिडियो प्रस्तुती समेत भएको थियो । वार्षिक साधाराण सभामा महासंघका पूर्व अध्यक्षहरु, प्रदेशका अध्यक्षहरु, विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु, दार्त निकायका प्रतिनिधिहरु, संचार माध्यमहरु र वार्षिक साधारणको समुदघाटनमा जुम मार्फत महासंघका सवै कार्यकारिणी समिति सदस्यहरु, मुख्य प्रतिनिधिहरु, संघ संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

महासंघको वार्षिक साधारणसभा अन्तरगतको दोस्रो दिन शुक्रबार मङ्सिर १२ गते जुम मार्फत बन्दशत्र आयोजना हुने कार्यक्रम छ । बन्द शत्रमा महासंघको आन्तरिक छलफल एवं प्रतिवेदन पेश हुनुको साथै महासंघका अध्यक्षबाट सम्बोधन हुने छ भने बैठकमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुका उमेदवारहरुबाट नीतिगत मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरी मङ्सिर १३ गते बिहानबाट महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने कार्यक्रम छ ।


SHARE THIS