दशैं बिदामा बन्द हुँदै बैंक र तिनका शाखाहरू, बैंकका ३७ सयभन्दा बढी कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोराना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा बैंकहरु बन्द हुने भएका छन् । पछिल्लो समय कोरोना संक्रमणको बढ्दो जोखिमबाट नेपालको बैंकिङ क्षेत्र पनि आक्रान्त बनिरहेको छ । विगतमा दशैं विदाको समयमा पनि तालिका निकालेर केही घण्टाका लागि खुल्ने गरेका बैंकका निश्चित शाखाहरू यसपाली भने बन्द हुने भएका छन् । यसपाली दशैंको बिदा अवधि कात्तिक ७ गते फुलपातीदेखि ११ गते एकादशीसम्म सबै बैंकका शाखाहरू बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

 कोभिड १९ का कारण बैंकका कर्मचारी समेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने संघले जनाएको छ । बैंकका शाखा नखुले पनि डिजिटल बैंकिङ र एटीम सेवा भने  नियमित हुने छन् ।

कोरोना संक्रमणपछि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसले पनि ग्राहकले नजिकैको आफुलाई पायक पर्ने एटिएम बुथबाट पैसा निकाल्न सक्नेछन् भने विद्युतीय माध्यमबाट रकम पठाउन सक्नेछन् । कोरोना भाइरस संक्रमणका कारण बच्न र जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम सदुपयोग गर्न पनि संघले आग्रह गरेको छ ।

बैंकका ३७ सयभन्दा बढी कर्मचारीहरुमा कोरोना

कोरोना संक्रमणले चौतर्फी असर गरिरहेका बेला नेपालको बैंकिङ क्षेत्रपनि संक्रमणको असरमा परेको छ । बैंकका तीन हजार सात सय भन्दा बढी कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको संघले  जनाएको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार बैंकहरुमा कोरोना संक्रमणले बढी जोखिम बढेको छ । यतिबेला स्वास्थ्य र सुरक्षापछिको तेस्रो नम्बरमा नेपालको बैंकिङ क्षेत्र देखिएको छ । कतिपय ठाउँमा त शाखाहरु नै बन्द छन् ।


SHARE THIS