कोरोना कहर : विद्युतीय कारोबार उल्लेख्य रुपमा बढ्यो

काठमाडौं । मुलुकमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा विद्युतीय कारोबार भने उल्लेख्य रुपमा बृद्धि भएको छ ।

पछिल्लो समय विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहनको परिणामस्वरुप सर्वसाधारणले विद्युतीय भुक्तानी उपकरणको प्रयोग बढाउँदै लगेका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रुपमा बृद्धि भएको भन्दै यसले वित्तीय पहुँचमा बृद्धि हुने बताउनुभयो ।

सन् २०२० को लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैंक अफ इण्डियाले वुधबार सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भर्चुअल माध्यमबाट आयोजना गरिएको ४० औं सार्क फाइनान्स ग्रुप मिटिङमा बोल्दै उहाँले सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजीटल कमन करेन्सी अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु जस्तैः नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीङ व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण÷ पुनर्संरचना लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत् गर्नुभएको थियो ।

बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा हाल सार्कफाइनान्स केन्द्रीय बैंकहरुको अध्यक्ष रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले बैठकमा आफ्ना विचार राख्दै कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको नीतिगत दायित्व  कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत जानकारी दिनुभयो ।

बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के, गभर्नरको कार्यालयका का.मु. निर्देशक तथा सार्कफाइनान्स कोअर्डिनेटर नारायणप्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS