कन्ट्रयाक ट्रेसिङदेखि कोरोना संक्रमणहुँदै क्वारेन्टाइन र आइसोलेशनसम्मको मेरो भोगाई

–बसन्ती
‘‘खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जीउन सिकाउँछ । खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।’’


यिनै भनाईलाई सापटी लिँदै जीवनमा पहिलो पटक कलमको सहायताले मनको बह पोख्ने टुङ्गोमा पुगेकी छु । पत्रपत्रिका र अनलाईन मिडियामा लेख, फिचर र समाचारमा आँखा डुलाउँदा कहिल्यै पनि विचार गरिन कि मैले पनि मेरा विचार लेखुँला भनेर । अझ कुनै बेला मैले पनि आफ्ना विचार अरु सामु पस्कनेछु भनेर । पत्रकारितामै सक्रिय मेरो दाजुले खाली समयमा लेख्न सिक्नु भनेर दिने गरेको सुझाव एउटा कानले सुन्ने र अर्को कानले उडाइदिने म आज एकाएक लेखक बन्ने सुरमा छु । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सकिँदैन् । भनेजस्तै मैले गएको ११ दिन व्यतित गरेको उतारचढाव जसका लागि पहिलो पटक क्म्प्यटरको किबोर्ड र माउसलाई चलायमान बनाउनुपरेको छ । यी ११ दिने मेरो भोगाईलाई यहाँ प्रस्तुत गरेकी छु । एक पटक पढिदिनुहुन विनम्र अनुरोध गर्दछु –

बिहानै उठेर मर्निङवाक जान र कसरत गर्न अल्छि मान्ने मलाई पनि विश्वका सबै मानिसलाई जस्तै कोरोना भाइरसले तर्साएको थियो । त्यसैले दुई महिनादेखि श्रीमानसँग पछि पछि मर्निङवाक जान थालेकी थिएँ । बिहानै उठेर दुई दुई गिलास पानी पिउने अनि सँगै बाहिर निस्कन्थ्यौँ । एक घण्टा हिँडेपछि ४५ मिनेटको योगा ध्यान पछि घर आउथ्यौँ । घर आइसकेपछि सँगै हट लेमन पिउथ्यौँ । अनि उहाँ पत्रिका पढ्न थाल्नुहुन्थ्यो, म चाहिँ भान्सामा खाना बनाउन जान्थेँ । बिहानको नौ बजेसम्म सबैले खाना खाइसक्थ्यांै । खाना खाइसकेपछि उहाँ अफिस 

जानुहुन्थ्यो, भान्जा पढ्न कोठामा जानुहुन्थ्यो, नानी बाबु पनि अनलाइन क्लास लिन आ–आफ्नो कोठामा जान्थे । मेरो भने सरसफाइको काम सुरु हुन्थ्यो ।

दिउँसो दुई बजे खाना खाइसकेपछि नानीबाबुले अनलाइन कलासमा के के पढे गृहकार्य गरे गरेनन् भन्ने कुराको जानकारी लिन्थेँ र एकछिनको आराम गर्न दिन्थेँ । चार बजेपछि नानीबाबुसँगै घरबेटीकी छोरीलाई पनि सँगै राखेर दुई घण्टा पढाउथेँ । दुई घण्टा पढिसकेपछि उनीहरु बाहिर घरको कम्पाउण्डमै  खेल्न जान्थे । म भने बेलुकाको खाना बनाउने काममा जुट्थेँ । बेलुका उहाँ अफिसबाट फर्कदा भान्जाले खाना खाइसक्नु भएको हुन्थ्यो । हामी भने उहाँ आइसकेपछि मात्र खान्थ्यौँ । किनभने उहाँको यो व्यस्त समयमा खाना सँगै खाने निउमा छोराछोरीसँग थोरै भएपनि नजिक हुने मौका मिल्थ्यो । यो कुराले छोराछोरी अनी बाबा तिनै जनालाई सन्तुष्टि मिल्थ्यो । खाना खाइसकेपछि आठ बजेको समचार हे-थ्यौँ र सबै आ–आफ्नो कोठामा जान्थ्यौँ यसरी नै हाम्रो दैनिकी चलिरहेको थियो ।

असोज १ गतेको कुरा हो सधैँ जस्तो बेलुका किचनमा खाना बनाउँदै थिएँ । कोठामा चार्ज गर्न राखेको मोबाइल बज्यो, गएर फोन उठाएँ उहाँले गर्नुभएको रहेछ । उताबाट के गदैँछौ भन्नुभयो मैले खाना बनाउँदै छु भने, अनि उताबाट भन्नुभयो मेरो स्टाफ दुई तीन जनालाई कोरोना पोजेटिभ देखियो त्यसैले म पनि क्वारेन्टाइामा बस्नुपर्ने भयो आत्तिनु पर्दैन है । यति सुनेपछि मेरो कानमा तोप पड्के जस्तै भयो । एकदमै आत्तिएँ मन झसङ्ग भयो घर सबै घुमेजस्तै भयो र कुर्सि तानेर बसेँ के गरु कसो गरुँ, के भनुँ सोच्नै सकिन । किनभने उहाँको बानी हामी आत्तिन्छौँ भनेर आफुमा भएको दुःख र पीडालाई मनभित्रै लुकाएर राख्ने थियो ।

त्यसैले उहाँको मुखबाट निस्किएको क्वारेन्टाइन भन्ने शब्दलाई मेरो दिमागले आइसोलेशनमा परिणत गरेर बुझिसकेको थियो । मनमा भएको पीडा व्यक्त गर्न पनि पाइन । किनकी साना साना छोराछोरी मेरै अगाडि उभिएर मलाई नै हेरिरहेका थिए । जसो तसो आत्तिएको मनलाई सम्हाल्दै उहाँलाई त्यो बसाइमा आवश्यक पुरै समानहरु जस्तै उहाँका लुगा, पानी तताउने, वाफ लिने भाँडाका साथै गुर्जो बेसार टिमुर दालचिनीका पातलगायलका सबै समान भान्जाको सहायतामा तयार गरी ब्यागमा प्याकिङ गरेँ यति गरी सक्दा साँझ करिब सात बजिसकेको थियो । फेरी उहाँको फोन आयो र गाडी बाटोमा आउँदै छ भन्नुभयो, मैले हवस भनेर फोन राखेँ अनि बाटोमा ब्याग पु¥याउन भान्जासँगै गएँ । एकछिनमा गाडी आयो ।

अनि देव ड्राइभर भाइसँग सोधेँ, सबै जनाको रिपोर्ट आयो भनेर । देव भाइले रिपोर्ट आइसकेको र उहाँको पोजेटिभ देखिएको कुरा मलाई लुकाउनुभयो तर पनि मैले उहाँको अनुहारको हाउभाउ देखेरै लख काटें । ‘दाल मै कुछ काला हे ।’ भने जस्तै उहाँले कुरा लुकाएपनि साँचो कुरा उहाँको अनुहारले प्रस्ट बताइरहेको थियो । उहाँ कुरा गर्दा पनि एकदम हडबढाउनु भएको थियो । गाडी सामान लिएर अफिसतर्फ गयो हामी घर फर्कियौँ । फर्किदै गर्दा बाटोमा फोन गरेर सामान पठाएको जानकारी गराएँ मनमा अनेक कुराहरु खेल्न थाल्यो र फेरि सोधेँ साँचो कुरा भन्नुहोस पोजेटिभ देखिए पनि सबैलाइ सन्चो भइरहेको छ । सामान्य रुघाखोकी जस्तै त हो नि सञ्चो भइहाल्छ ।

मेरो कुरा सुनेपछि उहाँले रिपोर्ट त आएको छैन तर एउटै गाडी चढ्ने साथीलाइ भएपछि मेरोपनि ९९ प्रतिशत पोजेटिभ आउने सम्भावना छ । भन्नुभयो फोनमा कुरा गर्दा गर्दै घर पुगिएको थाहै भएन । नानी बाबुलाई खाना खुवाएर कोठामा पठाएर भाँडा माझ्दै थिएँ । छोरीले पटक पटक भान्छामा जाँदै खाना खानुस भन्दै गरिरहेकी थिइन । म चाहीँ खाना खाने मन नभएकोले काम सकेपछि खान्छु भन्दै टारिरहेकि थिएँ । सानै भएपनि छोरीले मैले पीर गरेको अनुहार हेरेरै थाहा पाउँथिन । हजुर खाना खानुस भाँडा म माझ्छु भन्दै माझ्न थालिन अनि कुचो लगाइन म उनलाई देखाउन नक्कली हाँसो हाँस्दै खाना खान बसेँ । र उनलाई कोठामा पठाएँ खाना निल्न सा¥है गा¥हो भयो ।

अनि सुत्न भनी कोठामा गएँ । छोराछोरी र भान्जाका सामु देखाउन नसकी लुकाएको पीडा बन्द कोठामा पोखेँ यत्ति सबै हँुदै गर्दा घडिले रातको ११ बजाई सकेको थियो । सबै जना सुतिरहनु भएको थियो । कहिले यता फर्कन्छु कहिले उता फर्कन्छु गर्दा घडिले क्रमशः १ २ ३ गर्दै ४ बजायो तर निद्रा परेन । बिहान सबैजना उठिसके पछि हामी पनि सम्भव भएसम्म टाढा बसौँ भन्ने सल्लाह ग-यांै र २ गते बिहान मात्र उहाँले आफ्नो रिपोर्ट पोजेटिभ भएको र कुनै लक्षण नदेखिएकोले नआत्तिन भन्नुभयो ।

तर रिपोेर्ट अघिल्लै दिन आएको रहेछ । राती सुत्न सक्दैनन् भनेर आफ्नै मनमा मात्रै लुकाएर राख्नुभएको रहेछ । उहाँले हामीलाई लुकाएपनि आफ्नो सम्पर्कमा आएकाहरुलाई अघिल्लै दिन फोन गरेर सचेत रहन भनिसक्नुभएको रहेछ । साथै आफ्नो भान्जाको अनि नानीबाबुको राम्रो ख्याल राख है भन्नुभयो मैले हवस भनेर फोन राखेँ । भान्जा नानी अनि घरबेटीलाई पनि भनें तर बाबु सानै छ भनेर भन्न सकिन । उसलाई  क्वारेन्टाइनमा अफिसमै बस्नुभएको छ भनेका थियौँ ।

घरमा उहाँसँगैको नजिकको दुरी मेरो धेरै हुने भएकोले मलाई पनि पोजेटिभ देखिन सक्ने सम्भावना प्रवल रह्यो । कोरोनाले नजिकै आएर गिज्याएजस्तो लाग्न थालेजस्तो, कताकता लक्षण देखिएको हो कि जस्तो लाग्न थाल्यो । समाचारमा स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनबाट गराउने नियमित कोरोना अपडेट हेर्दा तर्सने मेरो लागि कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन जस्तो लाग्न थाल्यो । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्ने अठोटका साथ आफुलाई बलियो बनाउने अभ्यास गर्न थालें ।

त्यसैले अर्को दिनदेखि हल कोठाको भुइँमा ओछयान लगाएर सुत्ने निर्णय गरें तर भान्जाले मलाई भुइँमा सुत्न दिनु भएन आफु नै भुइँमा सुत्न थाल्नुभयो । माइजु भान्जाको सल्लाहमा म विशेष टाढा बस्ने, खाना भान्जाले बनाउने र सबै टाढा टाढा बस्ने नियम बनायौँ ।

अब चाहिँ कन्ट्रयाक ट्रेसिङको बारेमा चिन्ता हुन थाल्यो । मामा र भान्जाले सबै तिर फोन गरि बुझ्दा ५ गते पाटन अस्पतालमा स्वाब दिन जाने कुरा थियो यति सबै भइरहँदा हामीलाई सबैभन्दा चिन्ता आफन्तले थाहा नपाउन भन्ने लाग्न थाल्यो किनभने हामी चाहन्थ्यौँ सबैलाई हामीलाई जस्तो तनाव नहोस । आखिर आफन्तहरुलाई भनेर पनि आत्तिने मात्रै हो । भेटघाट गर्ने र सान्त्वना लिने कुरा पनि आएन । आफन्तको फोन आउँदा फोन उठाउनु भन्दा पहिले कसरी के भनेर कुरा लुकाउने भनि सोँच्नुपर्ने भयो उहाँ कता हुनुहुन्छ फोन देउ त भन्दा कहिले मर्निङवाक जानु भएको छ कहिले बजारमा समान लिन जानु भएको छ त कहिले अफिस गइसक्नु भयो कहिले सुतिसक्नु भयो भनेर झुट बोल्न थालेँ सबै भन्दा गा¥हो शनिबारको दिन हुन्थ्यो बहाना बनाउन । त्यसैले आराम गर्नु भएको छ भन्थेँ । उहाँलाइ दिनको चार पटक फोन गर्थेँ । लक्षण देखिएको थिएन स्वस्थ्य हुनुहुन्थ्यो । असोज ५ गते खाना खाएर स्वाब दिन पाटन अस्पताल गयौँ ।

हामीले बाबु सानै छ भनेर बाबाको साथीलाई कोरेना देखिएकोले अफिसमै क्वारेन्टाइनमा बस्नुभएको भनेका थियौं । तर उसले त सबै कुरा बुझिसकेको रहेछ । व्यक्त मात्र नगरेको रहेछ । स्वाब दिन अस्पतालको गेटभित्र पुग्नासाथ बाबालाई राखेको यहिँ हो ? कहाँ हुनुहुन्छ ? हामीले भेट्न मिल्छ ? बाबुले यी प्रश्न गरिरहँदा मन भक्कानिएर आयो । नानी बाबुलाई चउरमा लगेर बसेँ । बाबुलाई होइन बाबा त आफ्नो अफिसमा हुनुहुन्छ भने उ केही बोल्न सकेन् । नानीले पनि भाइलाई हेरिरहिन । भान्जाले सबै प्रक्रिया पु-याएर पालो आएपछि हामीलाई बोलाउनुभयो अनि स्वाब दिएर अस्पतालबाट निस्कियौँ । अफिसको गाडी आएको थियो उहाँलाई फलफुल कागती अमला किनेर पठाइदिएँ । अहिले भने रिपोर्टको प्रतिक्षामा बसिरहेका छौँ ।

स्वभावैले म नानी बाबुको दैनिकीप्रति अलिक कडा छु । मनले मायाँ गर्ने बाहिर चाहिँ ठिक्क मात्र देखाउने मेरो स्वभाव उनीहरुलाई थाहा छ । मेरो दैनिकी तालिका अनुसार चल्ने गर्छन् । तर असोज २ गते देखि भने मैले उनीहरुलाई धेरै दवाब दिएकी छैन । आफै मन लाग्दा पढ्ने खेल्ने टिभि हेर्ने गरेका छन् ।

अब उहाँको आइसोलेशनको कुरा गरौँ । बिहान उठ्ने र दुई गिलास पानी पिउने फ्रेस हुने अनि बाथरुमको सबै काम सकिएपछि तुलसी चिया खाने र छतमा गएर योगा ध्यान गर्ने यति सकेपछि बिहानको खाजा खाने अनलाइन समाचार पढ्दै हटलेमन पिउने बिहानको खाना १०ः३० मा खाने, छतमा एकछिन हिँड्ने, आराम गर्ने र एकछिन अफिसको काम अनलाइबाट गर्ने । पटक पटक गुर्जो साथै बेसार पानी पिउने । फेरि बेलुकाको योगा ध्यान गर्ने र खाना खाएपछि समाचार सुन्दै एकछिन हिँड्ने र सुत्ने । यसरी दैनिकी चल्दै थियो त्यो बसाईमा । बिहे गरेपछि १० वर्ष छुट्टै बसेका हामी २०७१ साल देखि मात्र सँगै बस्न थालेका हांै । तर सन्चै आरामै भएर टाढा बस्नु र यो कोरोना महामारीले विश्व नै अत्तालिएको बेला संंक्रमित भएर टाढा बस्नुमा धेरै फरक हँदोरहेछ ।

खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ भनेजस्तै सम्हालिएर र बलियो मन बनाउनुको विकल्प मेरो सामु थिएन । अहिले भने बिस्तारै सबै कुरा सामान्य लाग्न थालेको छ । असोज ७ गतेका दिन सधंै जस्तै खाना खाएर समाचार हेर्दै थियौँ । मोबाइलमा म्यासेज आयो खोलेर हेदौ हाम्रो पीसिआर रिपोर्ट रहेछ । भान्जाले हेर्नुभयो सबै जनाको नेगेटिभ रहेछ । सबै खुशी भयांै । तुरुन्त फोन गरेर उहाँलाई पनि जानकारी दिएँ । उहाँ पनि धेरै खुशी हुनुभयो । अब उहाँको टेस्ट कहिले हुन्छ भन्ने पर्खाइमा बस्न थाल्यौं । असोज १० गते उहाँको पनि नेगेटिभ आयो । यतिबेला भने मनमा संसार जितेको जस्तो अनुभव भयो । यति धेरै खुशी त म जीवनमा कहिले पनि भएकि थिइन् । भगवानले मेरो पुकार सुनिदिनु भएकोमा म मनैदेखि धन्यवाद दिएँ । पुजा गर्ने मन्दिरसँगै बुवा आमा(सासु ससुरा) को फोटो राखेकी छु । उहाँहरुलाई देख्ने अवसर नपाएपनि खुशी वा दुःखी हुँदा ढोगेर सेयर गर्ने गरेकी छु । त्यस्तै आज पनि यो खुशी सेयर गरेँ । उहाँहरु पनि मसँगै खुशी भएको महसुस गरेँ ।  र खाना खाएर सबैजना सुत्न गयौँ । ११ दिन चिन्ताको कारण सुत्न नसकेकि म आज भने खुशीले सुत्न सकिन । किनभने भोलि उहाँ ११ दिन पछि कोरोना सँगको यो लडाईमा विजयी भएर घर आउँदै हुनुहुन्छ ।

असोज ११ गते उहाँ घर आउनुभयो र अहिले पनि होम आइसोलेशनमा हुनुहुन्छ । हामीसँगै तर सामाजिक दुरी कायम गरी छुट्टै कोठामा बस्नुभएको छ । हरेक कुरामा सावधानी अपनाउँदा अपनाउँदै पनि उहाँलाई कोरोना पोजेटिभ देखिएपछि बाहिर हिँडिरहने मानिसलाई आफु सतर्क छु भन्ने हुँदाहुँदै पनि यो रोग सरिहाल्दोरहेछ । त्यसैले मैले सबैलाई यो आग्रह गर्न चाहन्छु कि परिवारको सदस्य जो बारम्बार बाहिर निस्कनुपर्ने वाध्यता हुन्छ । उहाँहरुले धेरै नै ख्याल गर्नुपर्ने हुन्छ । सकेसम्म घरका अन्य सदस्यसँग पनि सामाजिक दुरी कायम गर्नुपर्ने रहेछ । यस्ता कुरा भोगेपछि मात्रै थाहा हुँदो रहेछ । यो रोग लागेपनि सबैलाई लक्षण नदेखिने भन्ने हुँदैन । कति अहिले अस्पतालमा छट्पटाइरहेका छन् ।

त्यसैले सबैले समयमै सावधानी अपनाऔं । परिवारको सदस्यलेसम्म हेर्न नपाउने यो भयानक रोगले कसलाई कतिबेला कहाँ भेट्छ भन्न सकिँदैन । सचेत होऔं, सुरक्षित होऔं ।


SHARE THIS