कर्जाको माग बढ्न थाल्यो, असोजको तीन सातामा ४२ अर्ब कर्जा प्रवाह, ६४ अर्ब निक्षेप थपियो

काठमाडौं । दशैंको पूर्वसन्ध्यामा बजारमा बढ्न थालेको चहलपहलसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह र निक्षेप बढ्न थालेको हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तान्ने होडबाजी र आर्थिक क्रियाकलाप चलायमान हुँदै जाँदा पछिल्लो समय कर्जाको माग बढ्न थालेको हो ।

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । चाडपर्व नजिकिएसँगै विदेशबाट आउने रेमिट्यान्स बढ्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको छ भने कर्जा विस्तारमा सुधार आएको छ ।

चालु आर्थिक वर्षको असोज महिनाको तीन सातामै बैंकहरुमा ६४ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले ४२ अर्ब कर्जा विस्तार गरेका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा गरेको निषेधाज्ञाका हटेपछि कर्जा प्रवाहमा समेत सुधार आएको हो । गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।

उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको बेला बैंकहरुबाट कर्जा विस्तारको क्रम बढेको हो ।

गत असार मसान्तसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । चालु आर्थिक वर्ष सुरु भएयता असोज १६ गते शुक्रबारसम्म बैंकहरुले २९ खर्ब ४६ अर्ब कर्जा विस्तार गरेका छन भने यसअवधिमा ३५ खर्ब ५९ अर्ब निक्षेप संकलन गरेका छन । साउन यता ४३ अर्ब कर्जा विस्तार हुँदा ७२ अर्ब निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थावाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

लकडाउनको अवधिमा आर्थिक कारोबार ठप्प सरह रह्यो । बैंकहरुले पनि लगानी गर्ने अवस्था नहुँदा २ अर्बसम्मको अधिक तरलता भएको अवस्था थियो । वित्तीय प्रणालीमा अहिले पनि करिब पौने दुई खर्बभन्दा धेरै अधिक तरलता रहेको छ ।

कर्जाको ब्याजदरमा कमी

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकहरुले दिने कर्जाको औसत ब्याजदरमा कमी आएको छ । चालु आर्थिक वर्षको साउनमा कर्जाको औसत ब्याजदर १०.४७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको औसत ब्याजदर १२ प्रतिशत थियो । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदरमा कमी आएको हो । बैंंकहरुको औसत आधारदर ८.०८ प्रतिशत  मा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको आधारदर औसत १.३७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा आधारदर ९.४५ प्रतिशत थियो ।

वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदरमा पनि कमी आएको छ । साउनमा निक्षेपको औसत ब्याजदर ५.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ब्याजदर ६.७७ प्रतिशत थियो । वाणिज्य बैंकहरुबीच अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदरमा पनि कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा अन्तर बैंक कारोबार ब्याजदरमा कमी आएर ०.०२ प्रतिशत कायम भएको छ । २०७६ साउनमा यस्तो ब्याजदर १.१९ प्रतिशत थियो ।

मुलुकमा कोरोना संक्रमणयता बैंकहरुमा तरलता निरन्तर बढ्दो छ । चार पाँच महिना कर्जाको न्यून माग भएपछि कर्जाको ब्याजदर ह्वात्तै घटाउन थालेपछि पछिल्लो समय कर्जाको माग बढ्न थालेको हो । बैंक तथा वित्तीय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेपछि कर्जाको नयाँ माग बढ्न थालेको हो ।

राष्ट्र बैंकले केही दिन पहिलेमात्रै बैंक तथा वित्तीय संस्थालाई प्रत्येक महिना सुरु हुने अघिल्लो दिन अर्को महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार भदौ अन्तिम दिन नै केही बैंक तथा वित्तीय संस्थाले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कुनैबेला उपभोक्ताका लागि कठिन विषय बन्ने गरेको कर्जा लिने कुरा यतिबेला सहज मात्रै भएको छैन । सस्तो, सुलभ र प्रतिष्पर्धी हुँदा कोरोना संक्रमणले खुम्चिएको कर्जा प्रवाह पनि बढ्न थालेको छ । मुलुकमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनयता बैंकहरुमा निक्षेप थुप्रिने र कर्जाको माग कम हुँदै गएपछि पछिल्ला दिनहरुमा कर्जा विस्तारमा वाणिज्य बैंकहरु आक्रामक बनिरहेका छन् । कर्जा विस्तारमा को भन्दा को कम भन्दै विभिन्न सुविधा र अफरसहितका योजना सार्वजनिक गरिरहेका बैंकहरुले कर्जाका लागि एकल विन्दु अर्थात १० प्रतिशतभन्दा भित्रै कर्जा योजनालाई अटाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले धमाधम घर जग्गा र सवारी साधन किन्न सस्तोमा कर्जा उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको महामारीका कारण लगानी गर्न नपाएका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन खुकुलो भएसँगै धमाधम कर्जा लगानीका लागि उपभोक्ता तान्ने होडमा छन् ।

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकभर नै लकडाउन गरेयता बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएका कारण बैंकहरु कर्जा लगानीका लागि उदार देखिन थालेका हुन् ।

बैंकहरुले न्यूनतम एकल ब्याजदरमै घर जग्गा, सवारीलगायतका कर्जा जस्ता योजना पस्किन थालेपछि कर्जा प्रवाह बढ्न थालेको हो । पछिल्लो समय घर कर्जामा विशेष जोड दिँदै आएका बैंकहरुले योजना अनुरुप ग्राहक पाउन थालेका हुन् ।

यद्यपी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६ अनुसार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न नपाउने भएपछि कर्जा प्रवाह बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा र निक्षेपको ब्याजदर, आधार दर र ब्याजदर अन्तरको विगत तीन वर्ष अवधिको विवरण वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्न समेत निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलब्ध भएको तथा बैंकिङ क्षेत्रको पूँजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षत्र स्थायित्व कायम रहेको छ ।

निषेधाज्ञामा सुस्त

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले राजधानीमा गरेको निषेधाज्ञाको तीन साता अवधिमा कर्जा लगानी सुस्त देखिएको थियो । सो अवधीमा निक्षेप पनि झनै सुस्त देखिएको थियो ।

गत भदौ ३ गतेदेखि २४ गतेसम्म भएको निषेधाज्ञाका समयमा सीमित रुपमा शाखाहरु खोलेका वाणिज्य बैंकहरुले १९ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए ।

बैंकहरुले साउन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । बैंकर्स संघका अनुसार भदौ १९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह १९ अर्ब रुपियाँले बढेर २८ खर्ब ९७ अर्ब रुपियाँ पुगेको थियो ।

भदौको पहिलो सातामा बैंकहरुले २८ खर्ब ८६ अर्ब, दोस्रो सातामा २८ खर्ब ९२ अर्ब र तेस्रो सातामा २८ खर्ब ९७ अर्ब रुपियाँ कर्जा प्रवाह पुगेको थियो ।

बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने घटेको थियो । साउन मसान्तसम्म ३४ खर्ब ७९ अर्ब रुपियाँ निक्षेप संकलन गरेका बैंकहरुले भदौको १९ गतेसम्म १२ अर्ब रुपियाँले मात्रै बढाएर ३४ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप संकलन गरेका थिए ।

भदौको पहिलो सातामा बैंकहरुले ३४ खर्ब ८० अर्ब, दोस्रो सातामा ३४ खर्ब ८५ अर्ब र तेस्रो सातामा ३४ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप संकलन गरेका थिए । गत वर्ष बैंकहरुले भदौ महिनामा ४७ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए ।


SHARE THIS