कोरोना कहरः एक महिनामा झण्डै ९३ अर्ब रुपियाँ रेमिट्यान्स भित्रियो, निक्षेप संकलन र कर्जा प्रवाह विस्तार हुन सकेन

काठमाडौं । कोरोना संक्रमणले अर्थतन्त्र धरासायी भएका बेला चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब ७१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन नसकेको चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह भने २३ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा रेमिट्यान्स २३ प्रतिशतले बृद्धि भई ९२ अर्ब ७१ करोड रुपियाँ पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा दुई प्रतिशतले मात्रै बढेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले बृद्धि भई १०१ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा कुल आन्तरिक कर्जा १.४ भने प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा यस्तो कर्जा १३.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावीमा खासै परिवर्तन आएको छैन । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.३ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन ०.१ प्रतिशतले घट्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पनि ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।

२०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८.० प्रतिशत रहेको थियो ।

गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ०.५ प्रतिशतले घट्यो

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरुको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ०.३ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।


SHARE THIS