कोरोना भाइरस संक्रमणको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नुपर्ने रकम सबै बैंकहरुले व्यहोर्नु : राष्ट्र बैंक

काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार एक सर्कुलर जारी गर्दै कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्न  निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु पर्ने रकम सबै बैंकहरुले नै व्यहोर्न निर्देशन दिंदै राष्ट्र बैंकले कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकोले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन जोड दिएको छ ।

कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

अहिलेको जटिल अवस्थामा डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देशन दिंदै राष्ट्र बैंकले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने जनाएको छ ।

दुई सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन दिंदै बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनु राष्ट्र बैंकले निर्देशन दिएको छ ।


SHARE THIS