पहिलो दिनको सेयर बजारमा चमक, खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि माथि


कठमाडौं । सकारात्मक बाटो लिएको सेयर बजार साताको पहिलो दिन पनि २२ अंकले सुधारिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुलुकमा अपनाइएको लकडाउनपछि  निरन्तर उकालो लाग्दै आएको सेयर बजार आइतबार पनि उकालो लागेको होे ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक २२.४० अंकले उकालो लागेर १४६५.९४ को विन्दुमा पुगेर रोकिएको छ । यस दिनको सेन्सेटिभ इन्डेक्स ३.५९ अंकले उकालो लागेर ३०७.५३ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा आइतबारको नेप्से १.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.१८ प्रतिशतले उकालो लागेको हो ।
आइतबार सेयर बजारमा चमक आउनुका साथै खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि माथि लागेको हो । कोरोना प्रभावका कारण बैंकिङ प्रणालीमा थुप्रिएको तरलताको अवस्था र त्यका कारण बैंक ब्याजदर पनि तल झरिरहेका कारण बजारमा सकारात्मक प्रभाव परेको छ ।
पहिलो दिन नेप्से परिसूचकलाई साथ दिंदै कारोबार रकम पनि ह्वात्तै उकालो लागेर झण्डै दुई अर्ब पुगेको छ । दिनभर १९० कम्पनीहरुको ४५ लाख ६०३ कित्ता सेयर ३२ हजार ६२५ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ५१ लाख सात हजार रुपियाँ बराबरको कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा मौद्रिक नीतिले गरेका सकारात्मक व्यवस्था र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले गरेका प्रवधानले गर्दा सेयर बजारमा निरन्तर सुधार आइरहेको छ । लगानीकर्ता र पूँजीबजार मैत्री मौद्रिक नीतिका कारण गत सातादेखि लगानीकर्ताहरुको मनोबल पनि निरन्तर बढिरहेको छ ।
आइतबार कारोबार रकमका आधारमा २५ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार ७९९ कित्ता शेयर खरिदबिक्री भएर नेपाल लाइफ इन्स्योरेन्स अग्रपँक्तिमा पुगेको छ । त्यसैगरी  पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १९ करोड ९० लाख रुपियाँ बराबरको तीन लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार कारोबारमा आएको मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य ६८ रुपियाँ बढेर ७५० रुपियाँमा अन्तिम कारोबार हुँदा सकारात्मक सर्किट लागेको छ । एक्विजीशनका कारण लामो समय कारोबार रोक्का रहेको मिर्मिरे लघुवित्तको शेयर कारोबार गत सातादेखि खुला भएको थियो । जसका कारण  लगानीकर्ताहरु यस लघुवित्तमा आकर्षित भएका छन् ।
तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ प्रतिशत बढेको आइतबार जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यता बेष्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत ओरालो लागेको छ भने अन्य कम्पनीहरुको शेयरमूल्य भने ४ प्रतिशतभन्दा कम दरमा ओरालो लागेको छ ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये नौ वटा उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी तीन उपसमूहको परिसूचक ओरालो लागेको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९६ र ३.९१ प्रतिशतले उकालो लागेको यस दिन बैंकिङ १.३२, अन्य १.७५, माइक्रोफाइनान्स १.१२, ट्रेडिङ ०.९७, विकास बैंक ०.२६, फाइनान्स ०.५, उत्पादन र प्रशोधन ०.२ प्रतिशतले उकालो लागेका छन् । यस्तै आइतबार कारोबारमा आएका हाइड्रोपावर ०.२३, होटल ०.१४ र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१ प्रतिशतले ओरालो लागेका छन् ।

SHARE THIS