ब्रोकरमार्फत हुने अनलाइन कारोबार प्रभावकारी बनाउन नेप्सेले दियो निर्देशन


काठमाडौं । ब्रोकरमार्फत हुने अनलाइन कारोबार सिस्टम (नट्स) प्रभावकारी नभएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको क्षमता बढाउन निर्देशन दिएको छ ।
नेप्सेले ब्रोकरलाई तोकिए बमोजिमको हार्डवेयर तथा सफ्टेवयरसहित डाटा सेन्टरको क्षमता बढाउन निर्देशन दिएको हो ।
ब्रोकरहरुलाई प्राविधिक जनशक्ति बढाउन पनि नेप्सेले निर्देशन दिएको छ । हाल अनलाइन कारोबार गर्न सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४० हजार पुगिसकेको छ । यस्तो अवस्थामा ब्रोकरहरुले आफ्नो क्षमता विस्तार गर्नुपर्ने नेप्पेले जारी गरेको निर्देशनमा उल्लेख छ ।
ग्राहकलाई अनलाइन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउनुअघि यो सञ्चालन गर्ने तरिकाबारे ब्रोकरले लगानीकर्तालाई सिकाउनुपर्ने नेप्सेले बताएको छ । लगानीकर्तालाई उपलब्ध गराइएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन तथा व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी ब्रोकरको रहेको पनि नेप्सेले स्पष्ट पारेको छ । ब्रोकरले समस्या समाधान नगरे मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न पनि नेप्सेले लगानीकर्तालाई आग्रह गर्दै ब्रोकर कार्यालयमा सुपरीवेक्षण तथा अनुगमन गर्दा केही ब्रोकरले तोकिएका व्यवस्था नगरेको तथा ग्राहकलाई उचित सेवा प्रदान नगरेको देखिएको  जनाएको छ । ती ब्रोकरहरुलाई कमीकमजोरी तुरुन्त सच्चाएर लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन पनि नेप्सेको निर्देशन छ ।
लगानीकर्तालाई अनलाइन कारोबार गर्न सिकाउनु ब्रोकरको कर्तव्य भएको भन्दै अनलाइन कारोबार सम्बन्धी निर्देशिका नेप्सेले ब्रोकरलाई उपलब्ध गराइसकेको जनाएको छ ।

SHARE THIS