चालु आर्थिक वर्षदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिने भएको छ ।
धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजारमा नियमित कारोबार हुने व्यवस्था पनि बोर्डले मिलाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम  आइतबार सार्वजनिक गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले चालु आर्थिक वर्षबाट एकीकृत ग्राहक कार्ड वितरण हुने जानकारी दिंदै ऋणपत्रको लागि छुट्टै नियमाबली बनाउने जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था हुने भएको छ । बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने भएको छ । सरकारले पुँजी बजार विकासको लागि ल्याएको ५८ बुँदामध्ये ६८ प्रतिशत सम्पन्न भएको भन्दै उहाँले आगामी दिनको बाँकी कामलाई कार्यान्वयनमा लैजाने काम जारी राख्ने बताउनुभयो ।
बोर्डको चालू आवको नीति तथा कार्यक्रममा धितोपत्र बजार तथा तथा वस्तु विनिमय बजारको विकास गरी आइओएससिओको मापदण्ड अनुरुपको बनाउँदै लैजाने उल्लेख छ ।
बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन अनुसन्धान गर्ने तथा बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिबृद्धि र कार्य क्षेत्र विस्तार गर्ने योजना पनि समेटिएको छ । प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिबृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बोर्डले विगत तीन वर्ष अघिदेखि वर्षभरी गर्ने कार्यक्रम वर्षको सुरुमा नै नीति तथा कार्यक्रमको रुपमा सार्वजनिक गर्न थालेको हो । यसका लागि बोर्डले असार १४ गते धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका विषयमा विज्ञहरूसँग सुझाव लिएको थियो । सोही सुझावको आधारमा निति तथा कार्यक्रम ल्याएको बताएको छ ।
धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको छ । यस्तै सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने रहेको छ ।
बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने, बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिबृद्धि र कार्य क्षेत्र विस्तार गर्ने लक्ष्य पनि बोर्ड लिएको उहाँको भनाई थियो । प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिबृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्दै जाने बोर्डको लक्ष्य रहेको अध्यक्ष ढुंगानाले बताउनुभयो ।
धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना सञ्चालन अवधि समाप्त भएपछि सम्बन्धित कम्पनी तथा शेयरधनीको अवस्थाका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्थाका लागि अध्ययन गर्ने बोर्डको योजना छ । गैर आवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने योजना पनि नीति तथा कार्यक्रमा छ ।
वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन
बोर्डले धितोपत्र बजारमा वास्तविक क्षेत्र (रियल सेक्टर) का कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने भएको छ । बोर्डका अध्यक्ष डा. ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हाल केही वास्तविक क्षेत्रका कम्पनीहरुले आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको बताउनुभयो ।  वास्तविक क्षेत्रका केही कम्पनीहरु सूचीकृत भइसकेको भन्दै उहाँले केहीले आइपीओ जारीको लागि बोर्डमा आवेदन दिएको बताउनुभयो ।
ऋणपत्र पूर्णरुपमा अभौतिकरण
ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकरण (डिम्याट) गरेर प्रभावकारी रुपमा कारोबार गराउने योजना पनि  बोर्डले अघि सारेको छ ।
सरकारी ऋणपत्रलाई पनि अभौतिकारण गर्न केन्द्रीय बैंकसँग छलफल भएको भन्दै बोर्डका अध्यक्ष डा. ढुंगानाले यस आर्थिक वर्षदेखि ऋणपत्रको प्रभावकारी रुपमा कारोबार गर्न सबै ऋणपत्रलाई अभौतिकिकरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । सरकारी ऋणपत्रको अभौतिकरणका लागि राष्ट्र बैंकसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटललाई सञ्चालन अनुमति
बोर्डले चालु आर्थिक वर्षमा प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल सञ्चालन अनुमति दिने भएको छ । बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिने बोर्डले बताएको छ । यसैगरी, धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट प्रणाली टि प्लस टु मा सम्पन्न गरिने तथा नेप्सेको टीएमएसलाई प्रभावकारी बनाउने बोर्डको योजना छ ।
दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था
धतोपत्र दलाल व्यवसायीहरुले ग्रामीण तथा दुर्गम क्षेत्रमा आफ्नो आधिकारिक प्रतिनिधिमार्फत शेयर कारोबार गराउन पाउने भएका छन् ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि ब्रोकरका एजेन्टहरु मार्फत पनि शेयर बजारमा आवद्ध हुन सकिने छ । यसले शेयर बजारको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ । स्टक ब्रोकर एशोसिएसनले पनि ब्रोकरको आधिकारिक प्रतिनिधि व्यवस्था कार्यान्वयनमा आउनुपर्ने माग गर्दै आएको थियो ।
धितोपत्र कारोबार राफसाफ ’टि प्लस टु’ मा हुने
बोर्डले दोस्रो बजारमा हुने शेयर कारोबार पछिको भूक्तानी प्रकृयालाई थप सरलीकृत गर्ने भएको छ । बोर्डले हाल रहेको टि प्लस थ्री को कारोबारको राफसाफ चक्रलाई ’टि प्लस टु’ मा झार्ने योजना सार्वजनिक गरेको हो ।
हाल शेयर कारोबार भएको तीन दिनपछि अर्थात चौंथो दिनमा मात्रै दोस्रो बजारमा राफसाफ हुने गरेको छ । शेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ । त्यसपछिको दुई दिनभित्र शेयर खरिदकर्ताको खातामा शेयर दाखिला गरिन्छ भने बिक्रीकर्ताले रकम प्राप्त गर्छ। कारोबार सम्पन्न भएको तेस्रो दिनको राफसाफ नै टि प्लस टु हो ।
यसैगरी बोर्डले नेप्सेको कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गर्ने, आओएससिओको साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाउने भएको छ ।
बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने, वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र दिने, धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने भएको छ ।

SHARE THIS