सेयर बजारमा करेक्शन, कारोबार बढ्यो, सूचक घट्यो

कठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुलुकमा अपनाइएको लकडाउन खुलेसँगै निरन्तर खुल्दै आएको सेयर बजारमा करेक्शन आएको छ ।
अघिल्लो दिन उच्च अंकको बृद्घि भएको बजार साताको दोस्रो दिन भने दोहोरो अंकले ओरालो लागेको हो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.०९ अंकले ओरालो लागेर १४६४.९४ को विन्दुमा पुगेर रोकिएको छ । यस दिनको सेन्सेटिभ इन्डेक्स २.८४ अंकले ओरालो लागेर ३०९.६० को विन्दुमा पुगेर अडिएको छ । समग्रमा सोमबारको नेप्से ०.९५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले ओरालो लागेको हो ।
पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अंकको उच्च सुधार आएको थियो । आइतबार कारोबार शुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अंकले उकालो लागेर १४७९.०३ विन्दुमा पुगेर अडिएको थियो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १७.३९ अंकले उकालो लागेर ३१२.४४ विन्दुमा पुगेको थियो ।
मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको बजारमा मौद्रिक नीतिले गरेका सकारात्मक व्यवस्था र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा सेयर बजारमा उछाल आएको थियो ।
सोमबार पनि बजार शुरु भएदेखि नै अस्वभाविक रुपमा बढेर दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजार त्यसपछिको कारोबारमा भने करेक्सन आएको थियो । बजार खुलेको केहि सेकेन्डमै ४ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको बजार २० मिनेटको लागि बन्द भएको थियो । त्यसपछि पुनः खुलेको बजार करिब एक मिनेट अर्थात बिहान ११ बजेर २१ मिनेटमै ५ प्रतिशतले बढेर पुनः दोस्रो सकारात्मक सर्किट लागेको थियो ।
पहिलो दिन पनि ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । सो दिन बजार खुलेको पहिलो ७ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । पहिलो सर्किट ब्रेक पछि खुलेको बजारमा एक मिनेट पश्चात नै थप एक प्रतिशत अर्थात ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो ।
सोमबार कूल १८१ कम्पनीहरुको ७० लाख एक हजार २५८ किक्त सेयर ३३ हजार ४३३ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबारका हिसाबले लकडाउन पछिकै उच्च कारोबार हो ।
आइतबार दिनभर १११ वटा कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता सेयर ६६३ पटक खरिदबिक्री हुँदा छ करोड २५ लाख ६६ हजार २९३ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
सोमबार कारोबार रकमका आधारमा १ हजार ६८७ पटकको कारोबारमा २० करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको ४ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएर एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको कारोबार रकम १० करोड नाघेको छ ।
सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये चार उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी आठ वटाको ओरालो लागेको छ । बैंकिङ्ग ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०१ अंकले उकालो लागेको छ भने बाँकी उपसमूहको सूचक ओरालो लागेको हो । आइतबार कारोबारमा आएका १० वटा उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उत्साहजनक रुपमा उकालो लागेका थिए ।
नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेपनि युनाइटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने हिमालयन उर्जा र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यस दिन  कारोबारमा आएका गुराँस लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

SHARE THIS