मौद्रिक नीतिको कमालः सेयर बजार ८४ अंकले उकालो, सात मिनेटमै सर्किट ब्रेक

कठमाडौं । पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अंकको उच्च सुधार आएको छ । आइतबार कारोबार शुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अंकले उकालो लागेर १४७९.०३ विन्दुमा पुगेर अडिएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १७.३९ अंकले उकालो लागेर ३१२.४४ विन्दुमा पुगेको छ ।
मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको बजारमा मौद्रिक नीतिले गरेका सकारात्मक व्यवस्था र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा सेयर बजारमा उछाल आएको हो ।
पहिलो दिन ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस दिन बजार खुलेको पहिलो ७ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । पहिलो सर्किट ब्रेक पछि खुलेको बजारमा एक मिनेट पश्चात नै थप एक प्रतिशत अर्थात ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो ।
नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, गुराँस लघुवित्त, नबिल बैंक, नेपाल पूनर्बीमा कम्पनी लगायतका एक दर्जन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यसदिन सबैभन्दा गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट बैंक संस्थापक, शिखर इन्स्योरेन्स, एनआइसी एशिया बैंक तथा नबिल बैंकको शेयर मूल्य दश प्रतिशतका दरले उकालो लागेको हो ।
नागरिक लगानी कोष, नेपाल लाइफ, हिमालयन डिष्टलरी, ज्योति विकास बैंक, एनएमबि, एनसिसिबी, सेन्चुरी, मेगा, मञ्जुश्री फाइनान्स, नेपाल बैंक, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिवम सिमेन्ट, फसर््ट माइक्रोफाइनान्स लगायतको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । यसदिन कुल १११ कम्पनीको कारोबार भएकोमा सबै कम्पनीको शेयर मूल्य उकालो लागेको छ ।
मार्केट डेप्थ अनुसार पोजेटिभ सर्किट लागेका कम्पनीहरुको शेयरमूल्यमा यस दिन खरिद गर्नेहरुको उच्च चाप देखिएको थियो भने बिक्री गर्नेहरुको संख्या ज्यादै न्यून थियो ।
आइतबार दिनभर १११ वटा कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता सेयर ६६३ पटक खरिदबिक्री हुँदा छ करोड २५ लाख ६६ हजार २९३ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन कारोबारमा आएका १० वटा उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उत्साहजनक रुपमा उकालो लागेका छन् ।
आइतबार सेयर बजारमा देखिएको उछालको मुख्य अस्त्र भनेकै मौद्रिक नीति भएको बताउनुहुन्छ सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल । यसपालीको मौद्रिक नीतिमा सेयर बजारका लागि धेरै सकारात्मक कुरा आएको भन्दै उहाँले भन्नुभयो – ‘लगानीकर्ताहरुले पटकपटक उठाउँदै आएका धेरै कुरा यसपटकको मौद्रिक नीतिमा समेटिएको छ, लगानीकर्तामा पनि विश्वास पैदा भएको छ ।’
नेपाल धितोपत्र बोर्डले पछिल्ला नीति तथा कार्यक्रम भिन्न र पृथक रूपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा सम्पादन गर्ने कार्यहरु समेटी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमले बजार बढ्नुमा भूमिका खेलेको बताउनुहुन्छ संघका उपाध्यक्ष फुल्लेल । नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय वजारलाई विकास तथा विस्तार गरी स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी एवं प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई विभिन्न लक्ष्यहरु लिईएका कार्यक्रमले नै लगानीकर्तामा उत्साह प्रदान गरेको उहाँको भनाई छ ।
बोर्डले बुक विल्डिङ्ग विधिमार्फत् सार्वजनिक निष्काशन गर्न सक्ने, हकप्रद सेयर निष्काशनलाई थप प्रभावकारी बनाउने लगायतका व्यवस्था समावेश गरी नियमावली संशोधनका साथै सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीसम्बन्धी नियमावलीहरुको समसामयिक संशोधन गरिएको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।
लगानीकर्ता प्रत्यक्ष संवाद रेडियो कार्यक्रम, २०७६ असारबाट विद्युतीय प्रणालीमार्फत् ऋणपत्रको दोस्रो बजार कारोबारको व्यवस्था, बोर्डबाट सञ्चालन हँुदै आएको पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमलाई थप परिष्कृत गरी निरन्तरता, पुँजीगत लाभकर गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससीको वेबसाइटमार्फत् आधार मूल्य प्रविष्ट गरी पेश गर्न सक्ने व्यवस्था, हाल २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोवार गर्न अनुमति प्राप्त गरेकोमा तिनीहरुको कारोवार संचालन तथा विस्तार गर्ने व्यवस्था लगायत खुलामुखी सामूहिक लगानी कोष संचालनलाई सहजीकरण गरिएको व्यवस्था पूँजी बजारको सुनौलो भविष्यको आधार भएको उपाध्यक्ष फुल्लेलले बताउनुभयो ।
विश्लेषक मनोज शर्माले पनि आइतबारको सेयर बजारमा देखिएको उछालको मुख्य कारण मौद्रिक नीति भएको बताउनुहुन्छ । शेयरधितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा मिलाइएको भन्दै उहाँले भन्नुभयो – ‘शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको छ । जुन यो क्षेत्रका लागि सकारात्मक कुरा हो ।’

SHARE THIS