पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ लागौंः पर्यटनमन्त्री


काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र उकास्न पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई  आग्रह गर्नुभएको छ ।
कोभिड १९ को महामारीमा पर्यटन क्षेत्र र यसको प्रवद्र्घनमा सरकारले लिएको तदारुकता सम्बन्धी  मङगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र उकास्नका लागि अब सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई उहाँको आग्रह थियो ।
पर्यटन क्षेत्र सूचारु गर्ने योजना अनुसार साउन १५ गतेदेखि होटल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय सूचारु गर्ने निर्णय भएको भन्दै उहाँले भन्नुभयो – ‘कोरोनाको जोखिम भएकाले तत्कालै मास टुरिजममा जान सक्ने अवस्था छैन, त्यसैले गुणस्तरीय पर्यटकमा बढी ध्यान दिनु आवश्यक छ ।’
लकडाउनपछि पर्यटनका विभिन्न व्यवसाय शुरु गर्दा सरकारले तोकेको प्रोटोकललाई पालना गर्नुपर्नेमा जोड दिंदै मन्त्री भट्टराईले भन्नुभयो – ‘यतिबेला कोरोनाको जोखिम घट्दो देखिए पनि जोखिम हटिसकेको छैन, त्यसैले भोलिका दिनमा पर्यटन क्षेत्रले प्रोटोकल पालना नगर्दा कोरोना फैलियो भन्ने अवस्था आउन दिनुहुँदैन, होइन भने फेरि पर्यटन क्षेत्र बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
मन्त्री भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्दै साउन १५ देखि होटल, ट्रयाकिङ लागयतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गर्नुभयो ।
हवाई उड्डयन, होटल, ट्रेकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको भन्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले देखि नै तयारी गर्न उहाँको आग्रह थियो ।
कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधिकतम रुपमा भएको भन्दै उहाँले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने जानकारी दिनुभयो ।
सरकारले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पर्यटन गाउँको विकास गर्न लागेको उहाँले बताउनुभयो ।
पर्यटन मन्त्रालयका सचिव केदार अधिकारीले कोभिड १९ बाट थलिएको पर्यटन क्षेत्रका सवालमा राष्ट्र बैंक र सरकारलाई जानकारी गराए अनुसार सम्बोधन भएको भन्दै आगामी दिनमा उच्चतम सदुपयोग गर्दै यो क्षेत्रको प्रवद्र्घन गर्नुपर्ने बताउनुभयो ।
प्रत्येक प्रदेशमा एक÷एक वटा गाउँलाई पर्यटन गाउँका रुपमा विकास गरिने जानकारी दिंदै उहाँले भन्नुभयो – ‘यसका लागि प्रदेश स्तरमा १५ करोड र स्थानीय स्तरमा पाँच करोड रुपियाँको साझेदारीमा पर्यटन गाउँ विकास गरिनेछ ।’
सोमबार मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने गरेको निर्णयसँगै
साउन १५ गतेदेखि पर्यटनसँग सम्बन्धित अन्य व्यवसाय पनि सूचारु गरिएको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपालमा वित्तीय र पर्यटन क्षेत्रको सम्बन्ध मजबुुत बन्दै गएको भन्दै मौद्रिक नीतिमा पनि प्राथमिकताका साथ यो क्षेत्रलाई समेटिएको बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले माद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गर्दै देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको बताउनुभयो ।
कोभिड–१९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको भन्दै उहाँले चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम चैत भित्रै तिरेमा १० प्रतिशत छुट दिइएको स्पष्ट पार्नुभयोे । त्यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाइएको तथा उक्त छुट व्यवसायीले जुनसुकै समयमा तिर्दा समेत पाउने उहाँको भनाई थियो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले अहिलेको अवस्थामा कोभिड १९ बाट थला परेको पर्यटन क्षेत्रलाई सम्बोधन गर्न सकिएन भने सिंगो पर्यटन क्षेत्र नै धरासायी हुने निक्यौलका साथ दिइएका सुझाव मौद्रिक नीतिमा समावेश भएको बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


SHARE THIS