विषम परिस्थितीमा दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यम धितोपत्र बजारः अर्थमन्त्री डा. खतिवडा

कठमाडौं । पुँजी बजारको नियमन तथा सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड आइतबारदेखि स्थापनाको २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको छ ।
बोर्डको आइतबार राजधानीमा वेबिनारमार्फत गरिएको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बजारलाई दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यम भएको बताउनुभयो । कोभिड १९ रोगका कारण सिर्जित विषम परिस्थितीबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यमको रुपमा धितोपत्र बजार रहेको उहाँको भनाई छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभर छरिएर रहेको बचत तथा वैदेशिक पूँजीको समेत उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारी गर्न बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने उहाँले बताउनुभयो ।
अर्थमन्त्री डा खतिवडाले सुरक्षाको उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिंदै लामो समयसम्म सेयर बजार बन्द गर्न नहुने बताउनुभयो ।
पुँजी बजारलाई करमा प्रोत्साहन दिने र सहजै रुपमा कर तिर्न सक्ने स्थिती बनाउन आवश्यक रहेको भन्दै उहाँले धितोपत्र बोर्ड शसक्त भएर अघि बढ्नुपर्ने र आन्तरिक पुँजी परिचालनको माध्यमबाट दिर्घकालिन पुँजी निर्माणको आधार भएको बताउनुभयो ।
पछिल्लो समयमा धितोपत्र बजारमा निकै चुनौतीको सामना गर्नुपर्ने, सेयर बजारमा अब ऋणपत्रहरुको कारोबार बढाउनुपर्ने भन्दै सरकारी ऋणपत्र बजारमा लैजान सक्ने गरी जान लागेको बताउनुभयो । अहिले बैंकको ऋणपत्र आएको भन्दै उहाँले आगामी दिनमा औद्योगिक क्षेत्रको ऋणपत्र आउन सकेमा ऋणपत्रको बजार पनि विकासित हुने बताउनुभयो ।
क्रेडिट रेटिङलाई व्यवस्थित बनाउन र आगामी दिनमा यसको शुल्क घटाउन सुझाव दिंदै उहाँले लकडाउनको कारण सेयर बजार बन्द हुँदा कारोबार गर्नेलाई समस्या भएको हुनसक्ने बताउनुभयो । अहिले तत्कालको लागि सेयर बजारमा समस्या भएपनि यो अल्पकालिन हुने भन्दै उहाँले कोरोनासँग लडदै आफ्ना सबै क्रियाकलाप अघि बढ्ने तर्फ पनि सचेत गराउनुभयो ।
दैनिक जीवनयापन चलाउनको लागि बैंक, बीमा खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो –  ‘लामो समय लकडाउन भएपनि बजार लामो समय बन्द गर्न मिल्दैन, बजार खुलेको दिन कसरी अघि बढ्ने भन्ने योजना आवश्यक छ, त्यसै अनुसार अघि बढौं ।’
बजार सञ्चालन गर्न नेप्सेले मात्रै नसक्ने र त्यसमने लागि तरलता चाहिने भन्दै उहाँले व्यक्तिमा पैसा नभइ सेयर किन्न नसक्ने भन्दै आगामी दिनमा टिप्लस ३ लाई घटाउन गृहकार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
बजारको जोखिम लिन नचाहने र बजारका आउन चाहनेलाई म्यूचुअल फण्ड आएको भएपनि यो प्रारम्भिक चरणमा रहेको भन्दै यसको विकासमा लाग्न बोर्डको ध्यानाकर्षण गराउँदै अर्थमन्त्री डा. खतिवडाले व्यक्तिगतका साथै संस्थागत लगानीकर्ता बढाउने तर्फ पनि लाग्न आग्रह गर्नुभयो ।
स्टक डिलर आएपछि बजारमा हुने अस्वभाविक रुपमा हुने उतार चढाव कम हुने भन्दै उहाँले यसको लागि कानून निर्माण लगायतका काम भइरहेको र स्टक डिलर आएपछि बजारमा उचार चढाव नआउने बताउनुभयो ।
बोर्डलाई वित्तीय साक्षरतामा ध्यान दिन आग्रह गर्दै उहाँले नाफा सुनिश्चित गर्ने विषयमा लगानीकर्तालाई जानकारी गराउन आग्रह गर्दै जनतालाई सूसुचित गराउन धितोपत्र बोर्ड, नेप्से लगायतले कार्यविभाजन गरेर अघि बढन सुझाव दिनुभयो ।सूचना प्रविधिको उच्च प्रयोग मार्फत बजार नियमन गर्नुपर्ने आवश्यकता समेत औंल्याउँदै उहाँले धितोपत्र बजारलाई गतिशील एवं विश्वसनीय बनाउन बजार नियमन तथा पूर्वाधार सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।
लगानीकर्ताको हकहितको रक्षा गर्दै बजारलाई देशभर विस्तार गरी स्थिरता दिनुपर्ने बताउँदै उहाँले संस्थागत लगानीकर्ताहरूको संलग्नता बृद्धि, धितोपत्र बजार उपकरणमा विविधीकरण, र धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरकारले दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने, पूँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक ब्यबस्था मिलाउने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनात्मक सुधार गर्ने लगायतका नीति लिएको उहाँले बताउनुभयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले देशमा भएको पछिल्लो संरचनात्मक परिवर्तन र जनताको जीवनस्तर सुधारको तीब्र चाहना तथा सोको पूर्ति गर्ने प्रयासका बावजुद विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोग कोभिड १९ का कारण हाल सिर्जित विषम परिस्थितिबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको बताउँदै यस्तो अवस्थामा दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालनको गतिशील माध्यमको रूपमा रहेको धितोपत्र बजार र कृषि उपज तथा अन्य विशेष वस्तु कारोबारको मूल्य निर्धारण तथा जोखिम व्यवस्थापनको माध्यमको रूपमा रहेको वस्तु विनिमय बजारको महत्व अझ बढ्दै गएको बताउनुभयो ।
धितोपत्र बजारमा भएको पछिल्लो नीतिगत तथा सरचनागत सुधारका कारण प्राथमिक बजारको पहुँच देशव्यापी हुनुका साथै बजारमार्फत दीर्घकालीन पुँजी परिचालन परिमाणमा बृद्धि भई नेपालमा समेत धितोपत्र बजारमार्फत सार्क क्षेत्रका अन्य देश सरह पुँजी परिचालन कार्य भइरहेको उहाँले बताउनुभयो ।
बोर्डले धितोपत्रको दोस्रो बजार सुधार तथा विकासका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनात्मक सुधार गर्न र धितोपत्र कारोबार प्रणालीलाई लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासँग पूर्णरूपमा आबद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणाली विकासका लागि आवश्यक सहजीकरण कार्य गर्दै आएको भन्दै उहाँले यस प्रयासमा अझै केही कार्यहरू सम्पन्न हुन बाँकी रहेको बताउनुभयो ।
वस्तु विनिमय बजारसम्बन्धी ऐन तथा नियमाबली लागू भई वस्तु विनिमय बजारको नियमन गर्ने क्रममा वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न इच्छुक कम्पनीहरूलाई पूर्व स्वीकृति दिने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । लगानीकर्ताहरूलाई लगानीको थप अवसर तथा योग्य एवं उद्यमशील व्यक्तिलाई नवप्रवर्तनात्मक कार्यका लागि आवश्यक पुँजी सर्वसुलभ रूपमा स्वदेश एवं विदेशबाट परिचालनको अवसर उपलब्ध गराउन मेञ्चर क्यापिटल, प्राइभेट इक्विटी जस्ता विशिष्टीकृत साधन सञ्चालन अनुमति दिने प्रक्रिया समेत शीघ्र पूरा हुने गरी कार्य भइरहेको बोर्डका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिस्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्नेलगायत समग्र पुँजी बजारको नियमन तथा सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड आइतबारदेखि स्थापनाको २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको हो ।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, मर्चेन्ट बैङ्कर एसोसिएसनका अध्यक्ष धु्रव तिमिल्सिना, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटलगायतले आफना शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोर्डमा २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

SHARE THIS