नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो, इलाममा पनि देखियो संक्रमण


गीता पौडेल
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । मङ्गलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । यस्तै इलाममा पहिलोपल्ट एकजना पुरुषमा संक्रमण देखिएको छ । योसँगै संक्रमित जिल्लाको संख्या ७२ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको छ जसमा ५८४ जना निको भएर घर गएका छन् भने १५ जनाले ज्यान गुमाइसकेका छन् ।
अहिले विश्वमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७२ लाख ३८ हजार ६११ रहेका छन् । कोरोना संक्रमणबाट चार लाख ११ हजार २७७ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख ७१ हजार ७१६ निको भएका छन् ।
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर घट्यो
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो संक्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।
एनआरएनएका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चार जना, कुवेत र युकेमा एक÷एक गरी छ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो संस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो संस्थाले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनुभयो ।
सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारीक बनाउन सो संस्थाले आग्रह समेत गरेको छ ।
नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।
जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तराष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।
नेपालस्थित सङ्गठनका प्रतिनिधि डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा. रुना झालाई मङ्गलबार आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को लडाई लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको संख्यामा प्रयोगशालाले पु¥याएको समेत बताउनुभयो ।
मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताउनुभयो । उहाँले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।
प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा. झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तराष्ट्रियस्तरको मान्यता पाएको बताउनुभयो । उहाँले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तराष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिकरुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय रहेको भन्दै उहाँले भन्नभयो, ‘अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।’ प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाउनुपरेको समेत उहाँले बताउनुभयो ।
प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताउनुभयो ।
नेपालले ६४ वटा परीक्षणमा मान्यता पाएको भन्दै उहाँले अहिले प्रयोगशालाले १०० भन्दा बढी परीक्षण गर्दै आइरहेको बताउनुभयो ।
यसअघि कोभिड–१९ का पहिलो संक्रमित युवाको स्वाबको नमूना परीक्षण गर्नका लागि हङकङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा. झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताउनुभयो । कार्यक्रममा आइएसओका प्रतिनिधि डा. जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताउनुभयो । अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तराष्ट्रियस्तरमा मान्यता पाउने उहाँले बताउनुभयो । मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा. रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तराष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोभिड–१९ रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरिने बताउनुभयो । प्रयोगशालामा वर्षेनी करिब एक लाखभन्दा बढी परीक्षण गरिँदै आइरहेको छ ।

SHARE THIS