तयार भयो पुनरकर्जा कार्यविधिको मस्यौदा, तीनदेखि पाँच प्रतिशत ब्याजदर

कठमाडौं । केन्द्रिय बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा तयार भएको छ ।
नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको हो ।
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो ।
बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरिएको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा दिने रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् ।
साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा दिने रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् ।
पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । राष्ट्र बैंकका अनुसार प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नुपर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनरकर्जासम्बन्धी निर्णय गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा औषतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा नपाउने भएका छन् ।


SHARE THIS