लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने सरकारको निर्णय, यसपाली खुकुलो बनाइदै


काठमाडौं । सरकारले जारी बन्दाबन्दी (लकडाउन) आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ ।
चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी पटक पटक थपिदै भोलि बिहीबार सकिदै थियो । हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।
निर्माण सामग्री ओसारपसार गर्न पाइने, औद्योगिक उत्पादन तथा वितरणका लागि खुला
सरकारले यसपटकको लकडाउनको अवधि थप गरेपनि खुकुलो गर्ने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी भने परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन केही खुकुलो पारिएको जानकारी दिंदै औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ । साथै निर्माण सामग्रीको ढुवानीलाई पनि खुला छाडिएको बताउनुभयो ।
सुरक्षाको उपायहरु अपनाएर ढुङ्गागिट्टी उत्पादन प्रशोधन गर्न दिइनुका साथै कृषि तथा पशुपन्छीको ढुवानीका लागि पनि खुकुलो पारिएको मन्त्री खतिवडाले बताउनुभयो ।
उद्योगबाट लोड भएका सामान गन्तब्य स्थलसम्म पु¥याउन तथा त्यहाँबाट फर्किन पनि दिइने भएको छ । बीमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि पनि व्यवस्था गरिएको छ । एक तिहाइ कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाइएको छ ।
काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राख्नुपर्ने तथा ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ल्याउन लैजान पनि दिइने भएको छ ।
निर्माण उद्योगहरु पूर्ण रुपमा सञ्चालन गर्न दिइने भएको छ । राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने छ भने त्यहाँबाट खानाको प्याकेट मात्र उपलब्ध हुने छ ।
गाडी वर्कसप पनि खुल्ने भएको छ । अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने तथा हवाइ उडान बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

SHARE THIS