नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, एकैदिन थपिए १५ जना


काठमाडौं । नेपालमा कोरोना संक्रमणले गरिएको लकडाउनले ४१ औं दिन मनाइरहँदा यसका संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिनमा १५ जना संक्रमित थपिएका छन् ।
पश्चिमको नेपालगञ्जमा आइतबार १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ ।
नेपालगञ्जमा आइतबार मात्र १५ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो ।
आइतबार दिउँसो ९ जना र साँझ थप ६ जना गरेर संक्रमितको संख्या १५ पुगेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेहरुको संख्या १६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतबार साँँझ थप ३ महिला र ३ पुरुषमा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का उनीहरूमा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।
आइतबारसम्म कोरोना संक्रमणबाट दुई लाख ४४ हजार ९११ जनाको मृत्यु भइसकेको  छ भने यसका संक्रमितको संख्या ३४ लाख ६२ हजार ६८२ तथा निको भएर घर फर्किनेहरुको संख्या ११ लाख १० हजार ७१९ रहेको छ ।

SHARE THIS