कोरोना कहर: छ महिनासम्म राजधानीका सबै तारे होटल बन्द गरिने


गीता पौडेल
काठमाडौं । कोरोना संक्रमणका कारण थला परेका नेपालका तारे होटल आगामी छ महिनासम्मका लागि बन्द गरिने भएको छ । कोरोनाका कारण एक वर्षसम्म पर्यटक आगमन राम्रो नहुने भन्दै काठमाडौंका सबै तारे होटल छ महिनाका लागि बन्दको निर्णय भएको होटल संघ नेपालले जनाएको छ ।
संघको आइतबार बसेको आकस्मिक बैठकले असोजसम्म काठमाडौंका तारे होटल बन्दको निर्णय गरेको हो । ‘लकडाउनका कारण पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभाव रहने तथा आगामी एक वर्षसम्म पर्यटन उद्योग सुचारु रुपले चल्न नसक्ने भएकाले वैशाख १ गतेदेखि आगामी ६ महिनासम्म सम्पूर्ण होटल व्यवसाय बन्दको निर्णय भएको छ ।’ संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंका सबै पाँच तारे होटलका सञ्चालक सहभागी रहेको संघको बैठकले सो निर्णय गरेको हो । होटल बन्द गर्ने निर्णयमा होटल हायातका सञ्चालक सुरेशलाल श्रेष्ठ, काठमाडौं मेरियट होटलका सञ्चालक गौरव अग्रवाल, ¥याडिसन होटलका अनिलदास श्रेष्ठ, एलोप्ट होटलका सञ्चालक महेश्वर श्रेष्ठ, अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणा, अकामा होटलका सञ्चालक खेमराज लामिछाने, सांग्रिला होटलका सञ्चालक प्रसिद्धराज पाण्डे, एभरेष्ट, मल्ल होटल, सोल्टी होटल लगायतका प्रतिनिधीले हस्ताक्षर गरेका छन् ।

संघले बन्द हुँदा ६ महिनाको अवधिमा कर्मचारीलाई आधारभुत तलबको साढे १२ प्रतिशतका दरले मात्रै दिने निर्णय समेत गरेका छन् । सेवा शुल्क उपलब्ध गराउने होटलले श्रमिकले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना यो रकम दिने संघले निर्णय गरेको छ ।
होटलले श्रमिक युनियनसँग एक साताभित्र साढे १२ प्रतिशत पारिश्रमिक दिने बारेमा छलफल गर्ने समय संघले तोकेको छ । त्यो छलफलमा असहमत भएमा श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया पु¥याएर सूचना दिएर आंशिक रुपमा वा पूर्ण रुपमा कर्मचारी कटौती गर्ने निर्णय संघले गरेको छ । कर्मचारीलाई साढे १२ प्रतिशत भन्दा बढी रकमका लागि जब रिटेन्सन फण्डको व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।

SHARE THIS