घरेलु महासंघद्घारा अपांग, असाहय बालबालिका तथा बृद्धबृद्धाहरुलाई राहत हस्तान्तरण

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लकडाउनले पीडित हुन पुगेका अपांग, असाहय बालबालिका तथा बृद्धबृद्धाहरुलाई राहत उपलब्ध गराएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले देशभर लागु गरेको लकडाउनले पीडित हुन पुगेका अपांग, असाहय बालबालिका तथा बृद्धबृद्धाहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले महासंघले नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई खाद्य राहत सामग्री हस्तान्तरण गरेकोे हो । सो अवसरमा लकडाउनका कारणले पीडित हुन पुगेका अपांग, असाहय बालबालिका तथा बृद्धबृद्धाहरुलाई मन्त्रालयले नै वितरण गर्नेगरी खाद्य सामग्रीहरु चामल, दाल र नून लगायत हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।
राहत सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेललाई हस्तान्तरण गरिएको थियो । राहत सामग्री हस्तान्तरणका क्रममा महासंघको टोलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई भेटगरी लघु, घरेलु तथा साना उद्योगका विभिन्न विषयहरुमा सुझावहरु पनि पेश गरेको थियो । मन्त्री गुरुङले सुझावहरुलाई सकारात्मक रुपमा लिदै लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह, निवर्तमान अध्यक्ष सुरेश प्रधान, उपाध्यक्षहरु अन्जना ताम्राकार, चन्दन कृष्ण श्रेष्ठ र केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष रिता अवालको उपस्थिति रहेको थियो ।

SHARE THIS