नेपालका ठूला १० बैङ्कहरुको सम्पत्ति गुणस्तर परीक्षणका लागि बंगलादेशी कम्पनी योग्य

काठमाडौं । नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पत्तिको गुणस्तर परीक्षण(लोन पोर्टफोलियो रिभ्यू)का लागि बंगलादेशी कम्पनी योग्य भएको छ ।

राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नका लागि बंगलादेशी कम्पनीलाई छनोट गरेको हो । बंगलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैङ्कहरुको सम्पतिको गुणस्तर परीक्षण गर्ने भएको हो ।

राष्ट्र बैङ्कको नियमाबली अनुसार लोन पोर्टफोलियो रिभ्यू गर्न उक्त कम्पनी प्राविधिक रुपमा योग्य पाइएको राष्ट्र बैङ्कले जानकारी गराएको छ । गुणस्तर परीक्षणका गर्नका लागि हाउलादर र श्रीलंका र भारतका अन्य पाँच कम्पनीहरु सर्टलिस्टमा परेका थिए ।

राष्ट्र बैङ्कले एक सूचनामार्फत इच्छुक विदेशी लेखापरीक्षकलाई नेपालका वाणिज्य बैङ्कहरूको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यु–एलपीआर) का लागि आशयपत्र बुझाउन आब्हान गरेको थियो । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को शर्त बमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठूला बैङ्कहरुको विदेशी अडिटरबाट लेखापरीक्षण गर्न लागिएको हो ।

यसअघि १० ठूला बैङ्कको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको थियो । त्यस बेला मागिएको आशयपत्र अनुसार पाँच कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । ती मध्ये भारतको केपीएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैंकले सो प्रक्रिया रद्द गरेको थियो ।

आइएमइफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तराष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए । आईएमएफले विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तरगत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त शर्त राखेको थियो ।

आइएमएफले बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको हो । आइएमएफले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन तथा राष्ट्र बैंकलाई बाह्य लेखापरीक्षणलाई प्राथमिकतामा राख्न समेत सुझाएको थियो ।

आइएमएफसँग करिब ४० करोड अमेरिकी डलरको विस्तारित कर्जा सुविधा लिएको नेपालले यसको चांैथो किस्ता समेत लिइसकेको छ ।


SHARE THIS