कोभिड १९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुँदै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना कोभिड १९ बाट मुलकको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नेतर्फ केन्द्रित हुने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्फत सञ्चालन गरेको पूर्वबजेटकालीन अन्तरक्रियामा गर्भनर महा प्रसाद अधिकारीले यस्तो बताउनुभयो ।
उद्योगी व्यवसायी तथा सरोकारवालाहरुसँर्ग अन्तरक्रिया गर्दै उहाँले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति राष्ट्र बैंक केन्द्रित रहेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त सुझाव सरकार समक्ष पेश गर्ने बताउनुभयो ।
सहभागीहरूबाट प्राप्त सुझावको आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी उहाँले  दिनुभयो ।
वेबीनारमार्फत गरिएको अन्तरक्रियामा बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अथविज्ञसँग राष्ट्र बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको थियो ।
सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वेबीनारमा सहभागी उद्योगी व्यवसायीहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका थिए ।
सो अवसरमा बैंकका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले
अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्दै उक्त वेबीनार कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

SHARE THIS