तीस अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणको जोखिमबाट उत्पन्न परिस्थितिबाट अर्थतन्त्र प्रभावित भइरहेको बेला राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने खर्च जोहो गर्न सो रकम बराबरको विकास ऋणपत्र जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले चैत २७ गते बिहीबार ३० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८१ ‘घ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको यो विकास ऋणपत्र पाँच वर्ष अवधिको हुनेछ । चैत २८ गते शुक्रबार जारी मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि आगामी २०८१ चैत २८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थामा अनिवार्य तरलता अनुपात बाहेक ९० अर्ब रुपियाँ बढी अधिक तरलता रहेको छ ।
राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । तर नेपालमा सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा नगन्य रुपमा मात्र सहभागिता जनाउँदैै आएको पाइन्छ ।
ऋणपत्र लगानी गर्न इच्छुकले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जानेगरि निष्काशित सबैका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरि प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्काशित रकमको २५ अर्ब ५० करोड (८५ प्रतिशत) र चार अर्ब ५० करोड (१५ प्रतिशत) छुट्याइएको छ ।
खरिद गरिएको ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइनुका साथै दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत पनि हुनेछ ।
निश्चित ब्याजदर दिइ सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाहरुका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन, आउट राइट सेल्स अक्सन तथा रिभर्स रिपो जारी गरे बैंक तथा वित्तीय संस्थाबाट पैसा खिच्ने गर्दै आएको छ ।

SHARE THIS