राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुनः श्रेष्ठ


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः किरणकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । रावा बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमाबलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम श्रेष्ठलाई शनिबारदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरिएको बैंकले जनाएको छ ।
यस अघि श्रेष्ठ २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त हुनु भएको थियो । श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ करिअर सुरु गर्नुभई नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिनुभएको थियो ।
श्रेष्ठले विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसक्नुभएको छ । उहांले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नुभएको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त हुनु भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरुबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

SHARE THIS