लकडाउनसँगै थपियो टेलिकमको स्टे कनेक्टेड अफरको अवधि


काठमाडौं । मुलुकमा कायम रहेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा टेलिकमले भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको सो अफरको अवधि थप गरेको हो ।
नेपाल सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि आगामी वैशाख ४ गतेसम्म बढाएको हो ।
अफर अन्तरगत जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. एक सयमा एक जीबी डाटा खरिद गर्दा तीन जीबी डाटा बोनस स्वरुप प्राप्त हुने जनाउँदै टेलिकमले प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्ने जनाएको छ ।
यसैगरी दोस्रो प्याकेजमा रु. दुई सयमा दुई जीबी डाटा खरिद गर्दा आठ जीबी डाटा बोनस स्वरुप प्राप्त हुने र कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । यसरी रु. एक सयमा बोनससहित कुल चार जीबी र रु. दुई सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।
कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।
यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. एक सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १०७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीले स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र युएसएसडीबाट खरिद गर्न सकिन्छ भने ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् । साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

SHARE THIS