बुटवल पावरले २८ प्रतिशत लाभांश दिने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न २७ औँ साधाराण सभाले उक्त प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष  पद्म ज्योतिको अध्यक्षतामा  भएको सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आव. २०७६÷७७ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले मस्र्याङ्दी नदीमा चिनियाँसाझेदारहरुसंग मिलेर निर्माण गर्ने तीन जलविद्युत आयोजनाहरु (१३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, १३९ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत आयोजना) क्यासकेड आयोजनाकोरुपमा निर्माण गर्नका लागि सभाले मार्ग प्रशस्त गरेको  जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 यसअनुसार मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको २० प्रतिशत शेयर स्वामित्व आफ्नो नाममा कायम राखी बाँकी शेयरहरु चिनियाँ साझेदारलाई बिक्री हस्तान्तरण गर्नेछ 
 त्यस्तै कम्पनीले आफ्नो नाममा २० प्रतिशत शेयर स्वामित्व कायम रहने गरी तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको आयोजना कम्पनी स्थापना गरी आयोजनाको निर्माण कार्य  अगाडि बढाइने पनि बताएको छ ।
माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत आयोजनामा यस कम्पनीको यसअघिनै २० प्रतिशत शेयर स्वामित्व कायम रहेकोछ । उल्लेखित क्यासकेड आयोजनाहरुलाई निर्माणको चरणमा आवश्यक विद्युत आपूर्ति गर्न तथा सो पश्चात् उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्नका लागि मनाङमा ७.९ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजनाको अध्ययनका कार्यहरु सम्पन्न गरी निर्माणका लागि आवश्यक तयारी  शुरु गरिएको साधारण सभामा जानकारी दिइएको छ ।
हाल कम्पनीको मुख्य लगानीमा दुई जलविद्युत आयोजना निर्माणाधिन छन् । जसमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्को ३७.६ मेगावाट को कावेली ए जलविद्युत आयोजनाको निर्माण कार्य ठेकेदारसँंगको ठेक्का अन्त्य भएको कारण रोकिएको  साधारण सभामा जानकारी दिइयो । सो आयोजनाको निर्माण कार्यलाई विश्व बैंकको कर्जा प्रवाहको अवधि थप गराएर यथाशिघ्र सुचारु गर्ने तर्फ प्रयास भईरहेको  कम्पनीको दबी छ ।

SHARE THIS